काठमाडौं, कात्तिक १५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उक्त पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ।
पार्टीको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न सातवटा उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा सम्पन्न बैठकले उपसमितिहरूको संयोजक तोकेको हो।
जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कवीन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।
बैठकले उम्मेदवार छनोट रूपरेखाको प्रभावकारी कार्यान्वयन तथा समन्वयका लागि यी उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो।\















प्रतिक्रिया दिनुहोस्