जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०७:५८

पहिरो र लेदोका कारण तीन जिल्लाका सडक अवरुद्ध


काठमाडौं, कात्तिक १५ । लगातारको वर्षाका कारण पहिरो खस्नुका साथै खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिँदा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएको छ। उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण करिब १५ मिटर सडक अवरुद्ध भएको छ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि करिडोर सडकमा आवागमन रोकिएको छ। त्यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।