काठमाडौं, कात्तिक १५ । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन्। उनीहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, बढ्दो महँगी नियन्त्रण, अनिवार्य सैन्य सेवाको प्रस्ताव खारेजी तथा सरकारी निगरानी विस्तारको विरोध गरेका छन्।
जलवायु परिवर्तन र त्यसका कारण बढ्दै गएका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पनि प्रदर्शनकारीले सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार ‘जेनजी रेगेल्ट’ नामक सामाजिक सञ्जाल अभियानमार्फत प्रदर्शन आयोजना गरिएको हो। यसको अर्थ ‘जेनजीले सबै सम्हाल्नेछन्’ भन्ने हुन्छ। अभियानअन्तर्गत बर्लिन, कोलोन, फ्रान्कफर्ट र म्युनिखमा मुख्य प्रदर्शन भएका थिए भने अन्य ३० सहरमा पनि युवाहरू सडकमा उत्रिएका थिए।
प्रदर्शनकारीले आफ्ना मागको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन्। फ्रान्समा भएका युवा प्रदर्शनमा हिंसा देखिएपछि जर्मनीको सत्तारूढ क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू)का नेताहरूले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, विपक्षी दलका सांसदहरूले प्रदर्शनलाई समर्थन गरेका छन्।
ग्रिन पार्टीकी संसदीय दलकी नेत्री क्याथरिन द्रोएगेले समाचार एजेन्सी डीपीएलाई युवाहरूको आक्रोश जायज रहेको बताउनुभयो। उहाँका अनुसार संघीय सरकारले युवाका मागलाई गम्भीरतापूर्वक लिएको छैन।
वामपन्थी पार्टीका नेता लुइजी पान्तिसानोले पनि प्रदर्शनको समय उपयुक्त रहेको बताउनुभयो। सरकारले नर्सिङ सेवा र पेन्सन प्रणालीमा सुधारको तयारी गरिरहेका बेला युवाहरूको आवाज उठ्नु महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले प्रस्तावित सुधारलाई ‘सामाजिक क्रूरता’को संज्ञा दिनुभयो।
यसैबीच, प्रदर्शन आयोजकहरूले सञ्चारमाध्यमले हिंसाको आशंका फैलाएर प्रदर्शनका मूल मागबाट ध्यान अन्यत्र मोडेको आरोप लगाएका छन्।














प्रतिक्रिया दिनुहोस्