जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०७:४९

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने


काठमाडौं, कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ।

आयोजनाका अनुसार कार, भ्यान, पिकअपलगायत हलुका सवारीसाधनले सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस, ट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, बस तथा ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

ठूला ट्रक तथा लरीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

यसअघि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइएको थियो। गत भदौ १७ गते नागढुङ्गा ओरालोमा सडक भासिएर समस्या भएपछि सबै सवारीसाधनलाई शनिबारसम्म निःशुल्क आवागमनको व्यवस्था गरिएको थियो।

सडक बोर्डले कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा गत चैत २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार आजदेखि शुल्क उठाउने निर्णय गरेको हो। तत्कालका लागि नगद वा क्यूआरमार्फत शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

सुरुङ सञ्चालनको जिम्मेवारी युसिन–एआरटी जेभीले पाएको छ। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्।

निर्माण सुरु भएको झण्डै ८० महिनापछि गत साउन ११ गते नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएको थियो। सुरुङमार्गभित्र सवारीसाधनको गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ।