जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ११:०७

खराव मौसमले ३ विमानस्थल बन्द, मध्यराति २ जहाज भारततर्फ डाइभर्ट


काठमाडौं, कात्तिक १५ । खराव मौसमका कारण आइतबार बिहान देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएका छन् । मौसमको खरावीले भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द भएका छन् भने काठमाडौंमा पनि उडान तथा अवतरण प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल सञ्चालनमा आउन सकेनन । ती विमानस्थलमा उडान तथा अवतरणका लागि मार्गमा (इनरुट) मौसम प्रतिकूल रहेको छ ।

यसअघि शनिबार राति प्रतिकूल मौसमका कारण काठमाडौं आउन लागेका दुई अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए । थाई एयरवेजको बैंकक–काठमाडौं उडान भारतको कोलकातातर्फ डाइभर्ट भएको थियो । राति ११ बजेर २५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका रहेको सो जहाज कोलकाता पुगेपछि नेपाल फर्केको छैन ।

त्यस्तै, एयर इन्डियाको दिल्ली–काठमाडौं उडान पनि भारतकै लखनउतर्फ डाइभर्ट भएको थियो । राति १२ बजेर २५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका रहेको उक्त जहाज लखनउ पुगेको थियो । उक्त जहाज पनि आइतबार बिहानसम्म नेपाल फर्केको छैन ।

शुक्रबार र शनिबार प्रतिकूल मौसमका कारण बन्द रहेको लुक्ला विमानस्थल भने आइतबार सञ्चालनमा आएको छ । काठमाडौं विमानस्थलमा आइतबार बिहान मौसमको उतारचढावका कारण उडान तथा अवतरणमा समस्या देखिएको छ । श्री एयरलाइन्सको माउन्टेन फ्लाइटले गो–अराउन्ड गरेको छ भने बुद्ध एयरका दुई जहाजले मिस्ड अप्रोच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी घटेर ३ हजार मिटरमा झरेको छ । यसअघि ४ हजार मिटर रहेको भिजिबिलिटी घटेको हो । विमानस्थल क्षेत्रमा बादलको उचाइ (सिलिङ) ५०० फिट रहेको छ । सिलिङ १ हजार ५०० फिटभन्दा तल झर्दा जहाजको अवतरण प्रभावित हुन्छ ।

मौसम पटक–पटक खुल्ने र बिग्रने क्रम जारी रहेकाले जहाजको अप्रोच अस्थिर भइरहेको छ । अहिले काठमाडौं विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणालीअनुसार उडान सञ्चालन भइरहेको बिमानस्थल कार्यालयले जनाएको छ ।काठमाडौं विमानस्थलबाट आइतबार आन्तरिकतर्फ एकतर्फी १४४ उडान सञ्चालन गर्ने तालिका रहेको छ । अन्तर्राष्ट्रिय उडान पनि करिव सयको हाराहारी रहेका छन् ।