जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ११:०९

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै


काठमाडौं, कात्तिक १५। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचनाअनुसार केही दिनदेखि लगातार भइरहेको भारी हिमपातका कारण पर्यटकहरू उक्त क्षेत्रमा फसेका थिए। उनीहरू फसेको जानकारी प्रशासनले हिजो प्राप्त गरेको थियो। त्यसपछि आज हेलिकप्टरमार्फत उद्धार कार्य सुरु गरिएको हो।

उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू मौमिता हाल्डर (Moumita Halder), पियाली कोली (Piyali Koley), जजला त्रिवेद कुमार (Jajala Trived Kumar), आदित्य सिंघा (Aditya Singha), डिप्लिना बिस्वास (Diplina Biswas) र राजेश डे (Rajesh De) हुन्। उनीहरू शे–फोक्सुण्डो ताल भ्रमणका लागि डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू बीच बाटोमै फसेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जनाइएको छ। मौसम प्रतिकूल रहेकाले थप जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दा, पर्यटक तथा सम्बन्धित सबैलाई सजग र सतर्क रहन आग्रह गरेको छ।