काठमाडौं, मंसिर २ । सुनसरीको बराह बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र बराह ग्रुपकी कर्मचारी अस्मिता भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई मंसिर २ गते नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सहकारीका संस्थापक विश्वकर्मा काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका थिए भने भण्डारी धरान उपमहानगरपालिका–१५ निवासी हुन् । भण्डारी सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा विभागमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
बराह सहकारीले बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार यस प्रकरणमा १७ हजार १० जना पीडित रहेका छन् । चार हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी भई मुद्दा अघि बढाइएको छ ।
धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग आबद्ध भएर नेपालका विभिन्न स्थानमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्