जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १९:१९

बालेनले रविलाई जुनसुकै बेला थुन्न सक्छन्, रविले पनि सत्ता हत्याउन सक्छन् : वर्षमान पुन


काठमाडौं, मंसिर २ । नेकपाका संगठन विभाग प्रमुख वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको दाबी गर्नुभएको छ ।

नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा आयोजित कार्यक्रममा नेता पुनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच शक्ति संघर्ष चुलिएको बताउनुभयो ।

राज्यका निकायलाई आफ्नो प्रभावमा पार्ने होडबाजीका कारण सरकारी संयन्त्र विभाजित र कमजोर बनेको उहाँको आरोप छ । यसले राष्ट्रियता र राज्यका स्थापित संस्थासमेत कमजोर बनेको उहाँले बताउनुभयो ।

पुनले रास्वपाभित्रको विवादका कारण कुनै पनि बेला प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई पक्राउ गर्न सक्ने वा लामिछानेले प्रधानमन्त्रीलाई हटाएर सत्ता आफ्नो हातमा लिन सक्ने दाबी गर्नुभयो ।

‘कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ । कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन,’ उहाँले भन्नुभयो ।

सरकार संविधान र वर्तमान व्यवस्था कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाउँदै पुनले त्यसलाई रोक्न वामपन्थी शक्तिबीच एकता र संविधान पक्षधर लोकतान्त्रिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले एमालेसँग समेत सहकार्य गर्नुपर्नेमा जोड दिँदै खराब प्रवृत्ति र फासिस्ट कार्यशैलीको समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

यसैगरी, गणतन्त्र स्थापना भएको दुई दशक र पछिल्लो ३५ वर्षमा केही उपलब्धि नभएको भन्ने आरोपको खण्डन गर्दै पुनले भौतिक पूर्वाधार, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो ।