काठमाडौं, मंसिर २ । नेकपा एमालेले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा र सरकारमा सहभागी हुँदा गरेका प्रमुख काम तथा उपलब्धिहरू सार्वजनिक गरेको छ ।
पार्टीको जारी राष्ट्रिय भेलामा उपाध्यक्ष विष्णु पौडेलले १८ पृष्ठ लामो दस्तावेज प्रस्तुत गर्दै आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन, सामाजिक सुरक्षा र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
एमालेले सरकारमा करिब साढे १२ वर्षको हिस्सेदारी रहेको उल्लेख गर्दै ३५ वर्षको समग्र शासनकालको जिम्मेवारी भने नलिने स्पष्ट पारेको छ । पार्टीले आफू सरकारको नेतृत्वमा रहँदा वा सहभागी हुँदाका कामको मात्रै जिम्मेवारी लिने जनाएको छ ।
दस्तावेजअनुसार २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २० दशमलव ३ प्रतिशतमा झरेको छ । प्रतिव्यक्ति आय २०० डलरबाट बढेर एक हजार ५३५ डलर पुगेको तथा मानव विकास सूचकाङ्कमा पनि सुधार आएको एमालेको दाबी छ ।
सामाजिक सुरक्षातर्फ मासिक एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार रुपैयाँ पुगेको र ३६ लाख नागरिक लाभान्वित भएको उल्लेख छ । त्यस्तै, सामाजिक सुरक्षा कोषमा २१ लाख श्रमिक आबद्ध भएको र स्वास्थ्य बिमामा ८० लाख नागरिक समेटिएको दस्तावेजमा उल्लेख छ ।
पूर्वाधारतर्फ सडक सञ्जाल एक लाख १० हजार किलोमिटर पुगेको, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालन, जयनगर–जनकपुर रेल सेवा र विभिन्न सुरुङमार्गलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।
ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन क्षमता २२७ मेगावाटबाट बढेर चार हजार १२० मेगावाट पुगेको र विद्युत् पहुँच ९९ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको एमालेको दाबी छ । लोडसेडिङ अन्त्य र भारततर्फ विद्युत् निर्यातलाई पनि प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
यसैगरी, साक्षरता दर ३९ दशमलव ६ प्रतिशतबाट ७६ दशमलव २ प्रतिशत पुगेको, औसत आयु ५५ वर्षबाट ७२ वर्ष पुगेको तथा वन क्षेत्र ४६ प्रतिशत पुगेको दस्तावेजमा उल्लेख छ ।
२०७२ सालको भूकम्पपछि करिब आठ लाख निजी आवास, सात हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई पनि एमालेले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
परराष्ट्र सम्बन्धतर्फ भारतसँग जलमार्ग सम्झौता, चीनसँग समुद्री बन्दरगाहको पहुँच तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा प्रकाशनलाई महत्वपूर्ण उपलब्धि भनिएको छ ।
एमालेले पार्टी सरकारमा रहँदा आर्थिक–सामाजिक रूपान्तरण, भौतिक पूर्वाधार विकास र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्