काठमाडौं, मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकारविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिँदै ब्यञ्जनकारमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्नुभएको हो ।
जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोनमा ब्यञ्जनकारले अनधिकृत पहुँच पुर्याएको आरोप लगाइएको छ ।
जाहेरीकर्ताका अनुसार डिजिटल फरेन्सिक परीक्षण हुनुअघि ती मोबाइल फोन ब्यञ्जनकारको ज्वागलस्थित निवासमा दुई दिनसम्म राखिएको थियो । २०८३ असोज १६ गते राति ती मोबाइल ब्यञ्जनकारको घरमा रहेको तथ्य प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबीसमेत गरिएको छ ।
मोबाइल फोन प्रहरीलाई फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा प्रयोग गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीचका केही महत्त्वपूर्ण सन्देश मेटाइएको जाहेरीमा उल्लेख छ ।
ब्यञ्जनकारले प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाभन्दा बाहिर गएर डिजिटल प्रमाणमा पहुँच पुर्याएको र अनुसन्धान प्रभावित पार्न खोजेको आरोप जाहेरीमा लगाइएको छ ।
जाहेरीकर्ताले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गर्न माग गरेका छन् ।
यस्तै, डिजिटल प्रमाण नष्ट गरेको, गोपनीयताको हक उल्लङ्घन गरेको र पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोपमा निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
ब्यञ्जनकारमाथि लगाइएका आरोपबारे उहाँको प्रतिक्रिया र प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाए–नबढाएको विषय भने खुल्न बाँकी छ ।
















प्रतिक्रिया दिनुहोस्