काठमाडौं, मंसिर २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद चीन भ्रमणमा गए पनि संघीय संसद् सचिवालयलाई औपचारिक लिखित जानकारी गराइएको छैन ।
कात्तिक २९ गतेदेखि ११ दिने भ्रमणमा रहेको सांसदहरूको टोलीले भ्रमणअघि सचिवालयमा लिखित जानकारी नदिएको खुलेको हो । टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत चीनका विभिन्न सहरको भ्रमण गर्नेछ । उनीहरू मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भ्रमणअघि र भ्रमणकै दिन सार्वजनिक बिदा परेकाले सचिवालयलाई मौखिक जानकारी मात्रै गराइएको बताउनुभएको छ । भ्रमणबाट फर्किएपछि लिखित जानकारी गराउन सकिने उहाँको भनाइ छ ।
तर, संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदीय कामका सिलसिलामा औपचारिक निर्णय भएर हुने भ्रमणहरूको अभिलेख राखिने बताउनुभएको छ । सांसदहरूले व्यक्तिगत रूपमा गर्ने भ्रमणको जानकारी प्राप्त भएमा पनि त्यसलाई अभिलेखमा राख्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गएको टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी तथा विभिन्न संसदीय समितिका सभापतिसहित २० सांसद सहभागी छन् ।
चीन भ्रमणमा जानुअघि टोलीले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत भेट गरेको थियो ।
भ्रमणको उद्देश्य, खर्च व्यवस्थापन र औपचारिक प्रक्रियाबारे भने थप विवरण सार्वजनिक भएको छैन ।













प्रतिक्रिया दिनुहोस्