‘दलहरूलाई अस्वीकार गरेर, निषेध गरेर अब चुनाव गर्छु भनेर नसोचे हुन्छ,’ उहाँले भन्नुभयो, ‘अब समय फेरिएको छ ।
काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुँदै तीन महिना अगाडि निर्वाचन गराउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ ।
उहाँले जनप्रतिनिधिको संवैधानिक कार्यकाल कटौती गरेर निर्वाचन गराउने कुरा स्वीकार्य नहुने स्पष्ट पार्दै निर्धारित समयभन्दा तीन महिना अगाडि स्थानीय तहको निर्वाचन हुन नसक्ने अडान व्यक्त गर्नुभएको छ ।
पार्टीको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी वैशाख ३१ गते स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल पूरा हुने उल्लेख गर्नुभयो । निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष काम गर्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै उहाँले तीन महिना अगाडि नै निर्वाचन गराउने विषयमाथि प्रश्न उठाउनुभयो । ‘यो फागुनमा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कुरा होइन । वैशाखको ३१ गते स्थानीय तहका जनप्रतिनिधिहरूको समय पूरा हुन्छ,’ उहाँले भन्नुभयो, ‘छानिएका प्रतिनिधिहरूको कार्यकाल पाँच वर्ष हुन्छ, पाँच वर्षमा तीन महिना कमी हुने हो र ? असंवैधानिक कुरा गर्न पाइन्छ ?’
निर्वाचनको मिति अगाडि सार्नुपर्ने भए त्यसका लागि उचित संवैधानिक तथा व्यावहारिक आधार आवश्यक पर्ने उहाँको तर्क थियो । एक हप्ताअघि निर्वाचन गराउनु र दुई–तीन महिना अगाडि सार्नु फरक विषय भएको उल्लेख गर्दै उहाँले तीन महिना अगाडि निर्वाचन गराउने प्रस्तावप्रति असहमति जनाउनुभयो । ‘तीन महिना अगाडि चुनाव हुँदैन, हाम्रो अडान यही हो,’ अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचनको नाममा राजनीतिक दलहरूलाई निषेध गर्ने वा प्रतिस्पर्धाबाट बाहिर राख्ने प्रयास नगर्न पनि चेतावनी दिनुभयो । राजनीतिक दलहरूलाई अस्वीकार गरेर निर्वाचन गराउने सोच लोकतान्त्रिक मान्यताअनुकूल नहुने उहाँको भनाइ थियो ।‘दलहरूलाई अस्वीकार गरेर, निषेध गरेर अब चुनाव गर्छु भनेर नसोचे हुन्छ,’ उहाँले भन्नुभयो, ‘अब समय फेरिएको छ ।’
अध्यक्ष ओलीले एमालेले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र संस्थागत बनाउने बताउनुभयाे । पार्टीभित्र व्यक्तिगत प्रभाव, पहुँच र मनोमानीका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्तिको अन्त्य हुने उहाँकाे भनाइ छ ।
उम्मेदवार छनोट गर्दा सम्बन्धित स्थानीय तहका पार्टी कमिटीको सिफारिसलाई विशेष महत्व दिइने उल्लेख गर्दै उहाँले स्थानीय आवश्यकता, जनमत र संगठनको मूल्यांकनका आधारमा निर्णय हुने बताउनुभयाे । ‘उम्मेदवार उठाउँदा जसको हात उसको जगन्नाथ नहोस्,’ उहाँले भन्नुभयो ।
स्थानीय तहबाट आएका सिफारिसलाई ध्यान दिएर पार्टीले उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले विशेष परिस्थितिमा भने अपवाद हुन सक्ने बताउनुभयो । तर सामान्यतः उम्मेदवार छनोटमा निष्पक्षता र संस्थागत निर्णय प्रक्रिया अपनाउनुपर्ने उहाँको निर्देशन थियो । ‘स्थानीय तहको सिफारिसलाई ध्यान दिएर पार्टीले उम्मेदवारको निर्णय गर्छ । अपवादका रूपमा कहिलेकाहीँ त्यस्तो नहुन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘एकदम फेयरली पार्टी जानुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्