जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार ११:१०

एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन : अध्यक्ष ओली 


काठमाडौं, मंसिर ३। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तामा अनुशासनको कमी देखिएको भन्दै राष्ट्रिय भेलामा अनुशासित भएर बस्न निर्देशन दिनुभएको छ।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले भेलाको गरिमा र मर्यादा कायम राख्न सहभागी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो। उहाँले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेलामा सहभागीहरू पनि अनुशासनमा रहनुपर्नेमा जोड दिनुभयो। ‘एमालेजस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनुपर्‍यो,’ उहाँले भन्नुभयो।

भेलाको पहिलो दिन उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू बीचमै हलबाट बाहिरिने, कार्यक्रमप्रति पर्याप्त चासो नदेखाउने तथा अनधिकृत व्यक्तिहरूसमेत प्रवेश गरेको देखिएपछि अध्यक्ष ओलीले दोस्रो दिन भने सहभागी र स्वयंसेवकलाई अनुशासन पालनामा कडाइ गर्न निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले भेलामा सहभागीहरू कार्यक्रम नसकिँदै बाहिरिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय भेलालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभयो। ‘भेलालाई भेला जस्तो बनाउनुपर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिकै शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो,’ उहाँले भन्नुभयो।

उहाँले पार्टीको राष्ट्रिय भेलालाई सामान्य जमघट वा अव्यवस्थित कार्यक्रमका रूपमा लिन नहुने टिप्पणी गर्दै भन्नुभयो, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’

अध्यक्ष ओलीको अभिव्यक्तिले भेलाको पहिलो दिन देखिएको अव्यवस्थाप्रति नेतृत्व असन्तुष्ट रहेको संकेत गरेको छ। पार्टीको राष्ट्रिय भेलाजस्तो महत्वपूर्ण कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थिति, सहभागिता र अनुशासनलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो।