एमाले वरिष्ठ नेता भण्डारीको स्पष्टोक्ति : ‘मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र राष्ट्रिय जिम्मेवारीमा योगदान दिन राजनीतिमा फर्किएकी हुँ’
काठमाडौं, मंसिर ३ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहदामा पुगिसकेको व्यक्ति भएकाले अब कुनै पदप्रति निष्क्रियजस्तै भइसकेको बताउनुभएको छ ।
नेकपा एमालेको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले पार्टी राजनीतिमा पुनः सक्रिय हुने आफ्नो निर्णय कुनै व्यक्तिगत पद, सुविधा वा अवसर प्राप्त गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पार्नुभएको हो ।
आफूले राष्ट्रपतिको सर्वोच्च जिम्मेवारीसमेत पूरा गरिसकेको उल्लेख गर्दै भण्डारीले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा माथि उठेर मातृ पार्टीको हितमा योगदान गर्ने उद्देश्यका साथ राजनीतिमा फर्किएको बताउनुभयो ।‘अब म कुनै पनि पदप्रति निष्क्रियजस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहदा हासिल गरिसकेको छु,’ उहाँले भन्नुभयो ।
पार्टी राजनीतिमा फर्कनुको कारणबारे स्पष्ट पार्दै उहाँले व्यक्तिगत लाभ, पद र सुविधाका लागि नभई लामो समय योगदान गरेको पार्टीसँग पुनः जोडिएर काम गर्ने उद्देश्य रहेको बताउनुभयो ।‘फेरि पार्टी राजनीतिमा फर्कने निर्णय व्यक्तिगत पद, सुविधा या अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृ पार्टीसँग जोडिएर यसको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउने उद्देश्य लिएकी हुँ,’ उहाँले स्पष्ट पार्नुभयो ।
भण्डारीले आफ्नो राजनीतिक सक्रियताको उद्देश्य पार्टीको विचार, संगठन र राष्ट्रिय जिम्मेवारीलाई थप सुदृढ बनाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको वैचारिक विकासदेखि सामाजिक तथा आर्थिक रूपान्तरणसम्मका विषयमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो उद्देश्यप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूले देखाउनुभएको सद्भावप्रति आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मेरो यस पवित्र उद्देश्य र लक्ष्यप्रति देखाउनुभएको सद्भावका लागि पुनः आभार प्रकट गर्दछु ।’
पूर्वराष्ट्रपति भण्डारीको उक्त अभिव्यक्तिले पार्टी राजनीतिमा उहाँको पुनः सक्रियताको उद्देश्य र भूमिकाबारे स्पष्ट सन्देश दिएको छ । उहाँले व्यक्तिगत पद र सुविधाभन्दा मातृ पार्टीको वैचारिक, संगठनात्मक तथा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा प्रस्तुत गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्