जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार ०७:३९

एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबीच निर्णायक भिडन्त


काठमाडौं, मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो अवसरको खोजीमा छ । यता, चितवन राइनोजले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । चितवनका कमिल मिशाराले अविजित १२० रन तथा रवि बोपाराले ५३ रनको योगदान गर्नुभएको थियो ।

२०५ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज रिजन ढकालको ४ तथा उसामा मिरको ३ विकेटको उत्कृष्ट बलिङसामु १४३ रनमै समेटिएको थियो ।

उत्कृष्ट लयमा देखिएको चितवन आज पनि सोही प्रदर्शन दोहोर्‍याउँदै पहिलोपटक एनपीएलको फाइनल पुग्ने लक्ष्यमा छ । लगातार दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम भने यसपटक पनि उपाधि दौड कायम राख्न चाहन्छ ।

सुदूरपश्चिम पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो । त्यसैले यसपटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम मैदान उत्रनेछ ।

आजको खेल जित्ने टोलीले शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।