एमाले अध्यक्षको कार्यकर्तालाई निर्देशन– तालमेलको भर नपर्नुस्, आफ्नै बलमा चुनाव जित्ने योजना बनाउनुस्
काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले राजनीतिक धक्का बेहोरे पनि समाप्त नभएको बताउँदै एमाले पुनः विजयको यात्रामा अघि बढ्ने उद्घोष गर्नुभएको छ ।
उहाँले एमाले हार्न जन्मिएको पार्टी नभई जित्न जन्मिएको पार्टी भएको दाबी गर्दै आगामी निर्वाचन असाधारण ढंगले जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको संगठनात्मक शक्ति, राजनीतिक इतिहास र कार्यकर्ताको आत्मविश्वासलाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
पार्टीले विगतमा कठिन परिस्थितिको सामना गरेर पनि आफूलाई पुनर्गठन गर्दै अघि बढेको स्मरण गराउँदै उहाँले अहिले पार्टीसँग पर्याप्त संगठनात्मक पंक्ति र राजनीतिक अनुभव रहेको बताउनुभयो । ‘हामी लडेका हौँला, मरेका होइनौँ । यो हार्न जन्मिएको पार्टी होइन, जित्न जन्मिएको पार्टी हो,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचन जित्न पार्टीले दुईवटा कार्यभार र १५ वटा काम निर्धारण गरेको जानकारी गराउँदै राष्ट्रिय भेलाबाट फर्किएपछि सबै तहका कमिटीले तत्काल कार्ययोजना बनाएर कार्यान्वयनमा जुट्नुपर्ने बताउनुभयो । जिल्ला, पालिका, वडा र पार्टीका विभिन्न तहले आफ्नो क्षेत्रअनुसार निर्वाचन जित्ने स्पष्ट योजना बनाउनुपर्ने उहाँको निर्देशन थियो ।
निर्वाचनमा कससँग तालमेल हुने वा नहुने भन्ने विषयमा अल्झिनुभन्दा आफ्नै शक्ति र संगठनको आधारमा विजय हासिल गर्ने तयारी गर्नुपर्ने उहाँले बताउनुभयो । तामेल गर्दा पनि आफू बिलियाे भए पछि तालमेल गर्नुकाे विशेष अर्थ हुने उहाँले स्पष्ट पार्नुभयाे । ‘यहाँबाट फर्किएपछि १५ वटा काम गर्न योजना बनाउनुस् । जिल्लाले आफ्नो योजना बनाउनुस्, पालिकापार्टीले आफ्नो योजना बनाउनुस्, वडाले आफ्नो योजना बनाउनुस्,’ उहाँले भन्नुभयो, ‘योजना बनाएर काममा अगाडि बढ्नुस् । कोसँग तालमेल होला, के होला त्यो छाड्नुस्, आफैँले जित्ने योजना बनाउनुस् ।’
आफूले जीवनमा अत्यन्त कठिन र प्रतिकूल परिस्थितिको सामना गरेको स्मरण गर्दै अध्यक्ष ओलीले कठिन अवस्थामा समेत विजयप्रतिको आत्मविश्वास नत्यागेको बताउनुभयो । विगतमा फाँसीको सजाय सुनाइएको, नेल र हतकडी लगाएर गोलघरमा राखिएको अवस्थामा समेत आफूले जित्ने विश्वास बोकेर संघर्ष गरेको उहाँको भनाइ थियो । ‘फाँसीको सजाय सुनाएर नेल र हतकडी लगाएर गोलघरमा बस्दा पनि हामी जित्छौँ भन्ने आत्मविश्वास बोकेर हिँडेको मान्छे हुँ म,’ उहाँले भन्नुभयो, ‘त्यही आत्मविश्वासले आत्तिने र मात्तिने भइनँ म ।’

अध्यक्ष ओलीले पार्टीले विगतमा अत्यन्त सीमित स्रोतसाधन र कमजोर संगठनात्मक अवस्थाबाट समेत पुनर्गठन गरेर अघि बढेको स्मरण गर्नुभयो । अहिले एमालेसँग ठूलो पार्टी पंक्ति रहेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ थियो ।
सम्बोधनका क्रममा उहाँले नयाँ भनिएकाे राजनीतिक नेतृत्व र केही नयाँ जनप्रतिनिधिका अभिव्यक्तिप्रति पनि कटाक्ष गर्नुभयो । विगतमा राजनीतिक रूपमा केही नभएका व्यक्तिहरू अहिले सांसद र मन्त्री बनेपछि उनीहरूका अभिव्यक्ति सुन्नुपर्ने अवस्था आएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेले राजनीतिक सभ्यता र संस्कारको सीमा नाघेर जवाफ नदिने बताउनुभयो । ‘केही नहुँदा पनि हामी पुनर्गठन गरेर अघि बढेका थियौँ । अहिले यत्रो पार्टी पंक्ति छ,’ उहाँले भन्नुभयो ।
उहाँले सत्य बोल्दा अरूलाई अपाच्य भए पनि एमालेले सत्यको पक्ष छाड्न नहुने बताउनुभयो । राजनीतिक प्रतिस्पर्धामा झुटको सहारा लिन नहुने उल्लेख गर्दै उहाँले नेता तथा कार्यकर्तालाई तथ्य र सत्यका आधारमा आफ्ना धारणा राख्न निर्देशन दिनुभयो । ‘हामी त्यस्तो सभ्यता र संस्कृतिमा जाँदैनौँ । हामीले सत्य बोल्दा उनीहरूलाई अपाच्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘झुट बोलिँदैन, सत्य छाडिँदैन । सत्य बोल्नुपर्छ ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्नैपर्ने बताउँदै त्यसका लागि सामान्य तयारीले मात्र नपुग्ने उल्लेख गर्नुभयो । पार्टीको सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरेर असाधारण परिणाम हासिल गर्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । ‘हामी जित्छौँ, अवश्य जित्नुपर्छ । चुनाव असाधारण तरिकाले जित्नुपर्दछ,’ उहाँले भन्नुभयो ।
पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थलाई अगाडि सारेर मतभेद सिर्जना गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभयो । पार्टी र राष्ट्रको हितलाई केन्द्रमा राखेर सबै नेता तथा कार्यकर्ता एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । ‘पार्टीभित्र कुनै मतभेद छैन । आफ्नो स्वार्थ अगाडि सारेर कसैले मतभेद सिर्जना गरेर हुन्छ ? राष्ट्र र पार्टीको हितमा हामी अगाडि सरौँ,’ उहाँले भन्नुभयो ।
नेतृत्व र जिम्मेवारी निर्धारणमा वरिष्ठता तथा ज्येष्ठताको महत्व रहने भए पनि त्यसलाई मात्रै सबैथोक मान्न नसकिने अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । पार्टीमा काम, क्षमता र योगदानका आधारमा मूल्यांकन हुने उल्लेख गर्दै जिम्मेवारी निर्वाह गर्न नसक्नेले नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताउनुभयो । ‘वरियता र ज्येष्ठताको पनि अर्थ हुन्छ, तर त्यही सबै कुरा होइन । कामका आधारमा पार्टीमा मूल्यांकन हुन्छ,’ उहाँले भन्नुभयो, ‘काम गर्न सकिँदैन भने छाडिदिनुपर्छ, नयाँलाई ठाउँ दिनुपर्छ । दौडन सकिँदैन भने छाड्नुपर्छ । त्यो मेरा लागि पनि हो, अरूका लागि पनि हो ।’
अध्यक्ष ओलीले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र अनुशासनको विषयमा पनि कडा धारणा राख्नुभयो । महाधिवेशनबाट टुंगिएका विषयलाई सार्वजनिक रूपमा पटकपटक विवादमा ल्याउनु उचित नहुने उल्लेख गर्दै असहमति भए सम्बन्धित पार्टी कमिटीमा राख्न निर्देशन दिनुभयो । विशेषगरी सामाजिक सञ्जालमार्फत पार्टीका आन्तरिक विषय सार्वजनिक गरेर विरोधीलाई राजनीतिक सामग्री उपलब्ध गराउने प्रवृत्तिप्रति उहाँले आपत्ति जनाउनुभयो । ‘महाधिवेशनले टुंग्याएको विषयलाई एकतारे बजाएर र्याइँर्याई गर्नु हुँदैन । चित्तै नबुझेको विषय छ भने कमिटीमा राखौँ,’ उहाँले भन्नुभयो ।
पार्टीभित्रका असन्तुष्टि सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यसबाट पार्टीविरोधी शक्तिले लाभ लिने अवस्था सिर्जना गर्नु अनुशासनहीन कार्य भएको अध्यक्ष ओलीको टिप्पणी थियो । त्यस्तो गतिविधि गरेर विरोधीबाट प्रशंसा पाउँदैमा आफू सही भएको ठान्ने प्रवृत्तिसमेत गलत रहेको उहाँले बताउनुभयो । ‘फेसबुकबाट विरोधीलाई विषय दिने अनि विरोधीको प्रशंसा पाएर गमक्क परेर, हो म चाहिँ रहेछु भन्ने कुरा अनुशासनहीन कुरा हो,’ उहाँले भन्नुभयो, ‘त्यस कुरालाई मान्य हुँदैन ।’
अध्यक्ष ओलीले यसअघि केन्द्रीय कमिटी बैठकअगाडि भएका त्यस्ता गतिविधिलाई पार्टीले क्षम्य गरेको उल्लेख गर्दै अब पुनः दोहोरिए कारबाहीको विषय बन्ने स्पष्ट चेतावनी दिनुभयो । ‘अस्तिको केन्द्रीय कमिटीअगाडि भएका ती सबै कुरा क्षम्य गरेको छ । अब पनि त्यस्तो भयो भने त्यो कारबाहीको विषय हुन्छ,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय भेलामा अध्यक्ष ओलीको सम्बोधनले आगामी निर्वाचनको तयारी, पार्टी संगठनको परिचालन, आन्तरिक एकता, नेतृत्वको कार्यक्षमता र अनुशासनलाई एमालेको तत्कालीन प्राथमिकताका रूपमा अघि सारेको छ । उहाँले पार्टीको सम्पूर्ण पंक्तिलाई व्यक्तिगत स्वार्थ र आन्तरिक असन्तुष्टिभन्दा माथि उठेर निर्वाचन जित्ने साझा लक्ष्यमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्