जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार १३:२७

ओलीको कडा निर्देशन : धाँधली रोक्न पार्टीको दोस्रो निर्देशन कुर्नुपर्दैन, जे–जे गर्नुपर्छ स्थानीय रूपमा गर्नुहोला


काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हुन सक्ने धाँधलीका सबै रूप रोक्न नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ । निर्वाचनमा धाँधली हुन खोजे त्यसलाई रोक्न पार्टीको अर्को निर्देशन कुर्नु नपर्ने स्पष्ट पार्दै उहाँले स्थानीय स्तरबाटै आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो ।

पार्टीको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको लामो अनुभव र सत्यको पक्षमा उभिने आधार रहेको उल्लेख गर्नुभयो । यसपटक निर्वाचनमा कुनै पनि प्रकारको धाँधली हुन नदिन पार्टी पंक्ति सचेत र सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

‘सत्य हामीसँग छ । धेरै पटक चुनाव लडेको अनुभव हामीसँग छ । यस पटक धाँधलीका सबै रूपहरू रोकिने छन्, रोक्नै पर्छ,’ उहाँले भन्नुभयो ।

निर्वाचनमा धाँधली हुन खोजे त्यसलाई रोक्न पार्टी केन्द्रको अर्को निर्देशन पर्खेर नबस्न उहाँले कार्यकर्तालाई स्पष्ट निर्देशन दिनुभयो । धाँधली एमालेका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले स्थानीय स्तरमै आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

धाँधली हुन खोज्यो भने म यहीँबाट भन्न चाहन्छु, पार्टीको पछि दोस्रो निर्देशन चाहिने छैन । धाँधलीका रूपहरू रोक्न जे–जे गर्नुपर्छ स्थानीय रूपमा गर्नुहोला,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘धाँधली एमालेलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’