जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार १३:५६

हिमाली गाउँ लाहाछेवरकाे हिमालय आधारभूत विद्यालयका विद्यार्थीले पाए न्यानाे कपडा


रामेछाप, मंसिर ३ । रामेछापको विकट हिमाली क्षेत्र तथा अन्तिम मानव बस्तीका रूपमा परिचित उमाकुण्ड गाउँपालिका–१, गुम्देलस्थित लाहाछेवरका विद्यार्थीलाई विद्यालय पोसाक तथा न्यानो कपडा सहयोग गरिएको छ ।

जय मानव सेवा मलेसियाका अध्यक्ष दावा शेर्पाले श्री हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई टी–सर्ट, ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराउनुभएको हो ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण विभिन्न चुनौतीबीच अध्ययन गर्न बाध्य हिमाली क्षेत्रका बालबालिकालाई लक्षित गरी शेर्पाले उक्त सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय पोसाकका रुपमा ट्र्याकसुट, जुत्ता र मोजा प्राप्त भएपछि विद्यार्थीलाई विद्यालय आवतजावत तथा अध्ययनमा थप सहजता हुने अपेक्षा गरिएको छ । विशेषगरी चिसो मौसममा हिमाली भेगका बालबालिकालाई न्यानो कपडाको अभावले पठनपाठनमा समेत कठिनाइ हुने भएकाले प्राप्त सहयोग महत्वपूर्ण बनेको विद्यालयले जनाएको छ ।

शिक्षा र बालबालिकाको भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगप्रति विद्यालय परिवारले अध्यक्ष शेर्पालाई धन्यवाद व्यक्त गरेको छ ।

रामेछापको उच्च हिमाली क्षेत्रमा अवस्थित लाहाछेवरजस्तो दुर्गम बस्तीका विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोगले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वलाई उजागर गरेको छ । दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक यात्रालाई सहज बनाउन यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।