जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १७:५२

पितृसत्तात्मक प्रवृत्तिका कारण घरदेखि नै महिलाले विभेद भोगेको हुन्छ : क्योक्याप अध्यक्ष खड्का


काठमाडौं, २० मंसिर । मानव अधिकारको रक्षा,मानव अधिकारर्मीको सुरक्षा र सामाजिक न्यायको सवालका लागि काम गर्ने सङ्घ संस्थाको छाता सङ्गठन शान्तिका लागि साझा अभियान (कोक्याप) लाई यस वर्षको राष्ट्रिय मानव अधिकार महाभेला गर्ने जिम्मेवारी प्राप्त भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा क्योक्यापले ८ देखि २८ तारिखसम्म सप्ताहव्यापी कार्यक्रमसहित १३ औं राष्ट्रिय मानवअधिकार महाभेला (म्याग्नामिट २०२१) को आयोजना गर्दैछ ।

‘विधिको शासन कायम गरौं, मानव अधिकारको सम्मान गरौं’ भन्ने नारा तय गरिएको छ । यस वर्ष राष्ट्रिय महाभेलाको आयोजना गर्न कोक्यापलाई संयोजक र फ्रिडम फर अल नेपाल र शान्ति फाउण्डेसनलाई सहसंयोजकका रूपमा जिम्मेवारी दिइएको छ यस महाभेलाको तयारीमा लाग्नुभएका क्योक्यापका अध्यक्ष रोशना खड्कासँग महाभेलाको सन्दर्भमा गरिएको कुराकानी ।

महाभेलाको जिम्मेवारी पाउँदा कस्तो अनुभव गर्नुभएको छ ?

२० औं वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको हिसावमा यस जिम्मेवारी पाउँदा खुसी लागेको छ । राष्ट्रिय मानव अधिकार महाभेला गर्ने जिम्मेवारी हरेक वर्ष फरक संस्थाले पाउँछन् । यस वर्ष क्योक्यापले पाएको महत्वपूर्ण जिम्मेवारी पुरा गर्न कम्मर कसेरै लागिएको छ । यस अवसरलाई हरेक दृष्टिकोणले सफल बनाउन दिनरात नभनी काम गरिरहेको छु ।

महाभेलाको तयारी सकियो ?

महाभेलाको आयोजना गर्न एउटा संस्थालाई संयोजक र केही संस्थालाई सहसंयोजकको रूपमा जिम्मेवारी तोक्ने औपचारिक नियम भएपनि देशको सामाजिक विकासमा टेवा पुर्याउने सबै संस्थाले सहभागिता जनाएर महाभेला सफल पार्दै आएको छ । यहि सिलसिला अन्तरगत यस वर्ष पनि करिब ४६ संस्थाले ५० भन्दा बढि कार्यक्रमसहित सहकार्य गर्न दर्ता गरिसकेका छन् ।

महाभेलामा समन्वयात्मक भूमिका निर्वाह गर्न विभिन्न समिति गठन गरी आ–आफ्नो जिम्मेवारी अनुसार कामको बाँडफाड गरी काम गरिरहेका छौं । उद्घाटन, समापनका अतिथिहरू समेतको टुङ्गो लागिसकेको छ । अन्य केही बाँकी काम पनि सहसंयोजकलगायत विगतमा अनुभव बटुलेका संस्थाका जिम्मेवार व्यक्ति र यस क्षेत्रका अग्रजसँग सरसल्लाह गरी मिलेर अगाडि बढ्दैछौं ।

तपाईंले महाभेलाको आयोजनालाई अवसर वा चुनौति कुन रूपमा हेर्नुभएको छ ?

यस जिम्मेवारीलाई मैले अवसर र चुनौति दुबै दृष्टिकोणले स्वीकारेको छु । गत वर्ष यस महाभेलाको आयोजना गर्ने अवसर प्राप्त गरेको कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले हामीलाई महाभेलाको जिम्मेवारी नोभेम्बर २२ तारिखमा मात्र दिनुभयो । डिसेम्बर १० तारिखमा त अन्तर्राष्ट्रिय मानव दिवस पर्छ । यो दिवसकै सन्दर्भमा आयोजना गर्ने महाभेलाका लागि तयारी धेरै गर्नुपर्ने हुन्छ ।

मानव अधिकारको सवाललाई विभिन्न दृष्टिकोणले अभ्यास गर्ने देशभरका संस्थालाई समेट्नुपर्ने भएकोले हामीलाई समय ज्यादै कम भयो । म युवा र महिला भएकोले मेरो कुरा र आँटलाई त्यत्ति महत्व नदिएको जस्तो अनुभव गरिरहेको छु । पितृसत्तात्मक प्रवृत्तिका कारण घरदेखि नै महिलाले विभेद भोगेको हुन्छ, अहिले महाभेलाको तयारीको क्रममा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था छ, जे काम गर्दा पनि मेरो मतलाई महत्व नदिएको जस्तो पाउँछु ।

मेरो बुझाई गलत पनि हुन सक्छ तर यस जिम्मेवारी पुरा गर्ने मसँग पुरा हिम्मत छ । काम पुरूष वा महिला भन्ने व्यक्ति एक्लैले गर्ने होइन, सहकार्य र समन्वयबाट गर्ने हो, म यसका लागि तयार छु । मेरो तर्फबाट हदैसम्मको प्रयास जारी छ र अग्रज, समकक्षी साथी, कर्मचारी र सङ्घ संस्थाले मानव अधिकारको रक्षा तथा अभ्यासलाई सफल बनाउन सहयोग पाउँछु भन्ने विश्वास छ ।