जनता टाइम्स

१७ असार २०८२, मंगलवार ०७:०८

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : सचिव योगेश भट्टराई


डेनमार्क, १७ असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस कम्पनी तथा व्यवसायीहरुलाई नेपालमा लगानी र भ्रमणको लागि आग्रह गर्नुभएको छ । लगानीको हिसाबले नेपाल उर्बर र भ्रमणको निम्ती सुन्दर देश भएको भन्दै भट्टराईले द्धिपक्षीय सहकार्यले नेपाल र डेनमार्कविचको सम्बन्ध अझ सुदृढ हुने बताउनुभयो । डेनमार्कस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल व्यापार प्रवद्र्धन’ कार्यक्रममा भट्टराईले डेनमार्कका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आमन्त्रण गर्दै नेपाली आतिथ्यताको अनुभूति लिन पनि अनुरोध गर्नुभयो । उहाँले नेपालले डेनमार्कसँग केवल व्यापारिक होइन, मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहेको बताउनुभयो ।

डेनमार्कमा रहेका व्यवसायीक अगुवा, नीति निर्माणमा संलग्न व्यक्तित्व र डेनमार्कका अधिकारीहरु उपस्थित रहेको कार्यक्रममा भट्टराईले नेपाल लगानीमैत्री वातावरण बनाउनेतर्फ प्रतिबद्ध रहेको बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘बलियो नीतिगत संरचना, पूर्वाधार सुधार, र स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादनजस्ता क्षेत्रलाई प्राथमिकता दिइरहेका छौं ।’ उनले नेपालले स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादन क्षेत्रमा प्राथमिकता दिँदै आएको जानकारी दिदै दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान र हवाई सम्पर्क विस्तारमा डेनमार्कसँग सहकार्यको सम्भावना रहेको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको उहाँको भनाई छ ।

भट्टराईले नेपाल दीर्घकालीन दृष्टिकोण र आपसी लाभको भावना सहित साझेदारीका लागि खुला रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामी डेनमार्कका कम्पनीहरू र संस्थाहरू नेपालमा अवसर खोज्दै गरेको हेर्न चाहन्छौं, केवल बजारको रूपमा होइन, सम्भावनाहरूले भरिएको एक मित्र राष्ट्रको रूपमा ।’ भट्टराईले डेनमार्कले व्यापार वृद्धिमा र द्विपक्षीय सम्बन्ध सुदृढ पार्न गरेको योगदान बारेमा उल्लेख गर्दै नेपालले नवीनता, दिगोपनको अभ्यास, र व्यवसायिक मूल्यहरु खोजीरहेको बताउनुभयो । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कमा रहेका नेपाली समुदायलाई राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो। नेपाल र डेनमार्कबीच १९६७ देखि कूटनीतिक सम्बन्ध रहेको छ । डेनमार्कले नेपालमा विभिन्न विकास सम्बन्धी परियोजनाहरूमा सहयोग गरिसकेको छ ।