जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार ११:१६

सहमति तोडदै प्रचण्डले मागे गठबन्धनका बागी उम्मेदवारलाई मत, कांग्रेसलाई भोट नहाल्न निर्देशन


कैलाली, बैशाख २६ । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलारी गाउँपालिका पुगेर गठबन्धनकै बागी उम्मेदवारलाई मत माग्नुभएको छ । कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले पाएको थियो ।

माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष प्रचण्डले बागी उम्मेदवार चौधरीलाई मत माग्नुभएको हो ।

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, प्रचण्डले भन्नुभयो, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

उहाँले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपार्इंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु ’, प्रचण्डले भन्नुभयो,’ ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’

प्रचण्डले आफू प्रधानमन्त्रीसँगै आएको भन्दै कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्नुपर्ने बताउनु भयो । ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन, धोका बेइमानी स्वीकार्य हुँदैन, हामी एक्लै उभिएर लड्न तयार हुनुपर्छ,’ प्रचण्डको भनाई थियो ।

आज प्रचण्डले विजयी गराउन आग्रह गरेका उम्मेदवारलाई यसअघि नै गठबन्धनका रहेका दलहरूले आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारिसकेका छन । वैशाख १९ गते माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीसहितका गठबन्धनका दलहरूले गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो । विज्ञप्तिमा गठबन्धनका उम्मेदवारहरूलाई सघाउन आग्रह गर्दै त्यसो गरेको नपाइए कारबाही हुनेसमेत चेतावनी दिइएको थियो ।