जनता टाइम्स

२८ असार २०७६, शनिबार १६:३०

एकद्वार नीति अन्तर्गत वाढीपिडितलाई राहत उपलब्ध गराइने


काठमाडौं, असार २८

सरकारले एकद्वार नीति अन्तर्गत वाढीपिडितलाई राहत उपलब्ध गराउने भएको छ । साथै पहिला उद्दारमा खटिन सम्पूर्ण शक्ति परिचालन गरिएको पनि जनाएको छ ।

गृहमन्त्रालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बैठकले राहतमा एकद्वार प्रणाली अपनाउने र राहत तथा उद्धारको काम सकिएपछि पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको जानकारी गराउनु भएको थियो ।

उहाले खराब मौसमका कारण शुक्रबार हेलिकप्टरबाट राहत तथा उद्धारको काम गर्न नसकिएपनि शनिबारबाट राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको जानकारी बैठकमा दिनुभएको थियो ।

बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । तत्काल राहतका लागि स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने ठहर पनि बैठकले गरेको छ।