काठमाडौं, १० साउन । महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडियो बनाएर हाल्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।
भुसाल बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए । एउटा भिडियोमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए।
त्यसरी भिडियो बनाएर अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार कावासोती नवलपरासीबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट आज सात दिन हिरासतमा राख्न अनुमति लिएको छ । उक्त भिडियो सामाजिक सञ्जाल टिकटक, फेसबुकमा पनि भाइरल भएको छ ।
प्रतिक्रिया दिनुहोस्