जनता टाइम्स

२४ असार २०८२, मंगलवार १४:३३

प्रीति जिन्टालाई चण्डीगढ अदालतबाट अस्थायी राहत


चण्डीगढ । चण्डीगढको एक अदालतले फिल्म अभिनेत्री तथा पञ्जाब किंग्स क्रिकेट टोलीकी सह-मालिक प्रीति जिन्टालाई राहत दिएको छ। अदालतले उनका साझेदारहरूले कम्पनीको बारेमा लिएका निर्णयहरूमा रोक लगाएको छ। यद्यपि, यो प्रीति जिन्टाको लागि अस्थायी राहत हो। प्रीति जिन्टाले आफ्नै कम्पनी केपीएच ड्रीम क्रिकेट प्राइभेट लिमिटेडका दुई सह-निर्देशक मोहित बर्मन र नेस वाडियाविरुद्ध उजुरी दिएकी थिइन्। निवेदनमा अप्रिल २१ मा भएको बैठक कम्पनीको नियम विपरीत रहेकाले त्यसलाई रद्द गरिनुपर्ने भनिएको थियो ।

मे ३१ मा, ट्रायल कोर्टले उनको निवेदन खारेज गर्‍यो। यसपछि, प्रीतीले उच्च अदालतमा अपील गरिन् । उनले अपील विचाराधीन नभएसम्म कम्पनीको कुनै नयाँ बैठक वा निर्णय नहुने माग गरेकी थिइन्। अदालतले हाल कम्पनीको बैठकमा लिइएका सबै निर्णयहरू प्रीतिको पुनरावेदन र मुद्दाको अन्तिम निर्णयमा निर्भर रहने बताएको छ। अर्थात्, मुद्दाको पूर्ण निर्णय नभएसम्म कुनै पनि निर्णयलाई अन्तिम नमानिने बताएको छ। अब अर्को सुनुवाइ अगस्ट ७ मा हुनेछ। त्यतिन्जेलसम्म अदालतले सबै पक्षहरूलाई आफ्नो कागजात र जवाफ पेश गर्न भनेको छ।

सबै पक्षहरूको जवाफ र आवश्यक कागजातहरू अदालतमा पेश नगरिएकोले सिधै रोक लगाउन नसकिने अदालतले स्पष्ट पारेको छ। तर अदालतले बैठक र त्यसपछि गरिएका निर्णयहरूलाई मान्य मानिने छैन र अदालतको अन्तिम निर्णयले त्यसमा प्रभाव पार्ने पनि बताएको छ। प्रीति जिन्टाले केही दिनअघि तल्लो अदालतमा निवेदन दिएकी थिइन् जसमा २१ अप्रिल २०२५ मा भएको केपीएच ड्रीम क्रिकेट प्राइभेट लिमिटेडको साधारण सभालाई अमान्य घोषित गर्न माग गरिएको थियो। उनले यो बैठक कम्पनी ऐन र नियमहरूको उल्लङ्घन गरेर बोलाइएको आरोप लगाएकी थिइन्। उनले तत्काल रोक्न पनि अपील गरेकी थिइन्।