काठमाडौं, असोज ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई छाडेर अरू दलसँग मिल्न नसक्ने बताउनु भएको छ ।
संविधान दिवसको दिन नै कांग्रेस सभापति थापाले यस्तो बटमलाइन सुनाउनु भएको हो । थापाले रास्वपालाई छाडेर नेकपा एमाले वा नेकपासँग संविधान बनाउने दलको सहयात्रीका रूपमा मिल्न नसकिने घोषणा पनि गर्नुभएको छ । सभापति थापाले अव नेपालमा संविधानका नाममा कुनै पनि द्वन्द्व हुन नहुने आफ्नो विश्वास पनि सुनाउनु भयो ।
आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं ३० को कांग्रेस वडा कार्यालय पुग्नुभएका थापाले संविधानमा आवश्यक संशोधन गर्न सकिने भन्दै अव द्वन्द्व नहुने बताउनु भयो । ‘संविधान भनेको कमा, फुलिस्टप पनि परिवर्तन गर्नु हुँदैन भनेर अडिएर बस्ने कुरा पनि होइन । संविधानका आधारभूत कुराहरूलाई जोगाउने हो र हाम्रो अनुभवले जे कुरा सिकाएको छ, कतिपय कुराहरू बदल्नुपर्ने छ,’ थापाले भन्नुभयो ।
उहाँले अपरिपक्व ढङ्गले नभई सुझबुझका साथमा परिपक्व ढङ्गले संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । थापाले संविधान संशोधनको लागि अरू दलसँग संवादको नेतृत्व कांग्रेसले गर्ने दाबीसमेत गर्नुभयो ।
सभापति थापाले एमाले र नेकपाले भनेजस्तो रास्वपा विरुद्ध विपक्षी दलहरू एकजुट हुने कुरा कांग्रेसलाई स्वीकार्य नभएको बताउनु भयो । केही समयदेखि नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा विरुद्ध संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आउनुभएको प्रसङ्ग उठाउँदै थापाले रास्वपालाई छाडन नसक्ने र दुई दलसँग मिल्न नसक्ने बताउनु भएको हो ।
‘मैले पढेँ, सुनेँ संविधान बनाउने शक्तिहरू एकजुट हौँ भन्ने कुरा आइरहेको छ । हिजो हामी को–को मिलेर संविधान बनायौँ, संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि गर्नुहुँदैन । संविधानका नाममा ध्रुवीकरण गर्नु हुँदैन,’ थापाले भन्नुभयो ।
उहाँले हिजो संविधान बनाउने एमाले, माओवादी, मधेस केन्द्रित दल मात्रै नभएर रास्वपासँग पनि मिलेर काम गर्नुपर्नेमा कांग्रेस प्रष्ट रहेको बताउनु भयो । ‘रास्वपा पनि चाहिन्छ । सबै मिलेर मात्र काम गर्न सकिन्छ । अरू कुरामा प्रतिस्पर्धा गर्ने हो । संविधानको नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको ध्रुवीकरण गर्ने कुरा गर्नु हुँदैन,’ थापाले भन्नुभयो ।












प्रतिक्रिया दिनुहोस्