काठमाडौं, असोज २ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाली सेनाका पूर्वकमाण्डरदेखि जेनजी आन्दोलनमा सहयोग पुर्याउने विज्ञसम्मलाई समेटेर १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले रास्वपा सभापति रवि लामिछाने, नेपाली सेना, गृहमन्त्री सुधन गुरुङदेखि सत्तारुढ दलमा प्रभाव पार्ने नेता, व्यापारीदेखि जेनजी आन्दोलनमा सघाउनेसम्मलाई प्राथमिकता दिएर १३ देशका लागि राजदूत सिफारिस गरेको हो ।
सरकारले भारत, चीन, अमेरिका बेलायत, जापानसहित १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयले तयार गरेको रोष्टरका आधारमा रास्वपा निकट र नेपाली सेनाको सिफारिसमा राजदूत नियुक्ति सिफारिस गरेको हो ।
जसअनुसार निश्चलनाथ पाण्डे–भारत, कल्याणराज शर्मा–चीन, चिरनजंग थापा–अमेरिका, गौरव शमशेर जङ्गबहादुर राणा–संयुक्त अधिराज्य (यूके), जिग्यानकुमार थापा– जापान, सुरेशकुमार कर्ण– इजरायल र प्राप्ति शेरचन– स्पेन रहनुभएको छ । यसै गरी शरू जोशी– जर्मनी, पद्माक्षी राणा– ओमान, चूडामणि खरेल– मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया, डा. मंचला झा– श्रीलङ्का र गिरीबहादुर सुनार– साउदी अरेबिया हुनुहुन्छ ।
बैठकपछि परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको दाबी गर्नुभयो । उहाँका अनुसार आवश्यकता, योग्यता र क्षमताका आधारमा राजदूतको सिफारिस गरिएको छ । सिफारिस गरिएका राजदूतहरूको नाम अब सरकारले संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाउनेछ ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकहरूमा सहमतिका लागि (एग्रिमो) पठाउने सरकारको कार्यतालिका छ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्त हुनेछन् ।
को कस्ता छन् ?
१. गौरव शमशेर जबरा –बेलायत
बेलायतका लागि सिफारिस गौरव शमशेर जबरा नेपाली सेनाका पूर्वप्रधानसेनापति हुनुहुन्छ । नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गर्नुभएका जबरा सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । जबराकै नेतृत्वमा विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने कार्य सम्पन्न भएको थियो ।
उहाँले सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ र ‘सैन्य सिद्धान्त २०१३’ लागू गर्नुभएको थियो । सन् २०१५ को भूकम्पपछि जबराले सैन्य उद्धार कार्य ‘अपरेसन सङ्कट मोचन’ को नेतृत्व गर्नुभएको थियो । जबराले पाकिस्तानको कायदे–आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीति शास्त्रमा स्नातक गर्नुभएको छ ।
बेलायत, अमेरिका र पाकिस्तानका प्रतिष्ठित सैन्य कलेजबाट दीक्षित जबरा हाल ‘कन्जर्भेसन एलायन्स नेपाल’ का अध्यक्ष हुनुहुन्छ । उहाँ गणतन्त्र आउनुअघि राजतन्त्रको पक्षमा दृढतापूर्वक उभिने सैन्य अधिकारीका रूपमा पनि परिचित हुनुहुन्छ ।
२. डा. निश्चलनाथ पाण्डे – भारत
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे नेपालका वैदेशिक नीतिका अग्रणी प्राज्ञिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल ‘सेन्टर फर साउथ एसियन स्टडिज’ (सीएसएएस) का निर्देशक हुनुहुन्छ ।
पाण्डेले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशक (सन् १९९८–२००६) र पर्यटन तथा नागरिक उड्डयन विषयमा राष्ट्रिय योजना आयोगको सल्लाहकार (सन् १९९६–९७) का रूपमा काम गर्नुभएको छ । उहाँ सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ (सन् २०१६) र नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्य (सन् २०१७) हुनुहुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) र कानुनमा स्नातक (एलएलबी) गर्नुभएका पाण्डे ‘नेसनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज’, बैंगलोरका मानार्थ सहप्राध्यापक र ‘नेसनल युनिभर्सिटी अफ सिंगापुर’ को ‘इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज’ (आईएसएएस) का नन–रेजिडेन्ट सिनियर फेलो हुनुहुन्छ ।
यस्तै उहाँले जर्मनी र बेलायतमा भिजिटिङ फेलोसिप पूरा गर्नुका साथै कोलम्बोस्थित क्षेत्रीय रणनीतिक अध्ययन केन्द्रको सञ्चालक समितिमा रहेर काम गरिसक्नुभएको छ । पाण्डेका तीनवटा पुस्तक र एक दर्जन सम्पादित कृतिहरू प्रकाशित छन्। पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुनुहुन्छ ।
३. डा. कल्याणराज शर्मा – चीन
डा. कल्याणराज शर्मा नेपाल–चीन मामिला विज्ञ, सिनोलोजिस्ट र अर्थशास्त्री हुनुहुन्छ । उहाँलाई प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ।
उहाँले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । शर्मा हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष हुनुहुन्छ ।
उहाँ काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलरका रूपमा ‘डुइङ बिजनेस इन चाइना’ पाठ्यक्रम अध्यापन गराउँदै आउनुभएको छ । एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका शर्मा विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा आबद्ध हुनुहुन्छ ।
नेपाल–चीन सम्बन्धमा पुर्याएको योगदानको कदर स्वरूप उहाँलाई ‘नेपाल भूषण’ (सन् २०१६) र ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ (सन् २०२१) प्रदान गरिएको थियो ।
४. चिरनजंग थापा – अमेरिका
चिरनजंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञका रूपमा परिचित हुनुहुन्छ । उहाँसँग सुरक्षा नीति, सङ्कट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ । थापाले कोलम्बिया युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर र सन्नी जेनेसियोबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्नुभएको छ । सन् २०१७ देखि थापाले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनुभएको छ ।
यसअघि सेफरवल्र्ड र द एसिया फाउन्डेसनमा सुरक्षा सल्लाहकारका रूपमा काम गर्नुभएका थापाले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिनुका साथै नेपाली सेनाको पहिलो नागरिक–सैन्य सम्बन्ध पाठ्यक्रम तयार पार्नुभएको थियो । संयुक्त राष्ट्रसंघका लागि सिंगापुर र नेपालका स्थायी नियोगहरूमा काम गरिसक्नुभएका थापा हार्वर्ड केनेडी स्कुलको ‘लिडरसिप इन होमल्यान्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली हुनुहुन्छ ।
५. जिग्यानकुमार थापा – जापान
जिग्यानकुमार थापाले नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गर्नुभएको छ । योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर गर्नुभएका थापाले सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिला विज्ञका रूपमा काम गर्दै आउनु भएको छ ।
सन् २००५ देखि द्विपक्षीय कार्यक्रमहरूको संयोजकका रूपमा उच्चस्तरीय भ्रमणहरूमा सहजीकरण गर्दै आउनु भएका थापाले सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा आयोजित ‘नेपाल–जापान व्यापार संवाद’ को आयोजना गर्नुभएको थियो । जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग काम गरिसक्नुभएका थापा जापानी विश्वविद्यालयहरूमा सहप्राध्यापकका रूपमा अध्यापनसमेत गराउँदै आउनुभएको छ । उहाँ जापानी भाषामा निपुण हुनुहुन्छ ।
६. सुरेशकुमार कर्ण – इजरायल
सुरेशकुमार कर्ण सूचना प्रविधि, बैङ्किङ र आर्थिक नीतिका क्षेत्रका वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । कुमारी बैङ्कको प्रमुख सूचना तथा विवरण अधिकृत छँदा उहाँले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल क्यास’ सञ्चालनमा ल्याउनु भएको थियो । जसले दक्षिण एसियाको ‘एमबिलियन्थ अवार्ड’ प्राप्त गरेको थियो। पछि उहाँले नेपाल बैङ्क लिमिटेडको प्रमुख सञ्चालन अधिकृतका रूपमा पनि काम गर्नुभएको थियो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को लगातार दुई कार्यकाल अध्यक्ष रहनुभएका कर्ण नेपालको पहिलो ‘राष्ट्रिय आईटी नीति २०००’ को मस्यौदा तयार गर्न संलग्न हुनुहुन्थ्यो । बेइजिङ नर्मल युनिभर्सिटीबाट एमबीए गर्नुभएका कर्ण सन् २०१९ मा ‘राष्ट्रिय आईसीटी उत्कृष्ट पुरस्कार’ बाट सम्मानित हुनुभएको थियो । उहाँले आफ्नो करियरको सुरुवात नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट गर्नुभएको थियो ।
७. प्राप्ति शेरचन – स्पेन
प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता मानिनुहुन्छ । शेरचनसँग दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा १५ वर्ष काम गरेको अनुभव छ । सन् २०१५ देखि विश्व बैङ्क समूहअन्तर्गतको ‘इन्टरनेसनल फाइनान्स कर्पोरेसन’ (आईएफसी) मा सञ्चालन अधिकृतका रूपमा कार्यरत शेरचनले आईएफसी इन्डियाको ‘जेन्डर कन्ट्री प्रोग्राम’ को नेतृत्व गर्दै आउनु भएको छ ।
उहाँले एसिया र अफ्रिकाभर १३ लाखभन्दा बढी महिलाहरूलाई समेट्ने समावेशी–वित्त साझेदारी विस्तार गर्नुभएको छ । शेरचनले ब्रान्डिस युनिभर्सिटीबाट दिगो अन्तर्राष्ट्रिय विकासमा एमबीए र नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ ‘वुमेन लिड नेपाल’ को यूएस बोर्ड सहअध्यक्ष हुनुहुन्छ ।
८. शरू जोशी – जर्मनी
शरू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी काम गर्नुभएकी अनुभवी वरिष्ठ नीति विज्ञका रूपमा परिचित हुनुहुन्छ ।
वैदेशिक रोजगार ऐन, नियमावली र नीतिसहित नेपालको आप्रवासन ढाँचा निर्माणमा उनले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । जोशीले ‘युएन वुमेन’ मा एक दशकभन्दा बढी समय क्षेत्रीय कार्यक्रम प्रबन्धक र रणनीतिक साझेदारी विज्ञका रूपमा काम गरेको अनुभव छ ।
सन् २०१८ देखि स्वतन्त्र वरिष्ठ नीति परामर्शदाताका रूपमा कार्यरत जोशीले विश्व बैङ्क र ‘ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट’ लगायतका मञ्चमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । इन्स्टिच्युट अफ सोसल स्टडिज, द हेग र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएकी जोशी ‘एउटा सिन्को भाँचेर हेर्दा’ पुस्तककी लेखिका समेत हुनुहुन्छ ।
९. डा. पद्माक्षी राणा – ओमान
डा. पद्माक्षी राणा दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव संगाल्नुभएकी विकास तथा उद्यमी नेता हुनुहुन्छ । सन् २०२२ देखि उहाँले ‘इम्प्याक्ट हब काठमाडौं’ को कार्यकारी निर्देशक र सहसंस्थापकका रूपमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी निर्माण गरिरहनुभएको छ।
उहाँले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि र एमफिल तथा वेबस्टर युनिभर्सिटी थाइल्यान्डबाट एमबीए गर्नुभएको छ । इम्प्याक्ट हबअघि राणाले क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान तथा अध्यापन गर्नुका साथै सिंगापुरस्थित ‘द इन्सेप्टरी’ को सहस्थापना गर्नुभएको थियो ।
१०. चूडामणि खरेल – मलेसिया
चूडामणि खरेल मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानुनको प्राज्ञिक पृष्ठभूमि भएका शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञका रूपमा परिचित हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुका साथै कानुनमा स्नातक गर्नुभएको छ । हाल नेपाल योग खेलकुद संघको महासचिवका रूपमा कार्यरत खरेल राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले कलेजमा प्राध्यापनसमेत गर्नुभएको छ ।
११. प्राडा. संगम श्रेष्ठ – दक्षिण कोरिया
प्राध्यापक डा. संगम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जल–सुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका विश्वव्यापी नीति विज्ञ मानिनुहुन्छ । उहाँ हाल थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) का प्राध्यापक र ‘ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टर’ का संस्थापक सहनिर्देशक हुनुहुन्छ ।
श्रेष्ठले एसियाली विकास बैङ्क, विश्व बैङ्क, संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँगको साझेदारीमा अन्तर्राष्ट्रिय सहकार्य जुटाउने काम गर्दै आउनु भएको छ । यामानाशी युनिभर्सिटी जापानबाट विद्यावारिधि श्रेष्ठका २ सयभन्दा बढी अनुसन्धान पत्रहरू प्रकाशित छन । उहाँ स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गर्ने शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा पटक–पटक पर्न सफल हुनुभएको छ ।
१२. डा. मञ्चल झा – श्रीलंका
डा. मञ्चल झा सुशासन तथा सार्वजनिक नीति विज्ञ मानिनुहुन्छ । झाले नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्त (सन् २०१५–२०१९) का रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा आयोगको प्रतिनिधित्व गर्दै श्रीलंकामा नेपालको अनुभव प्रस्तुत गर्नुभएको थियो ।
भारतको बी.आर. अम्बेडकर युनिभर्सिटीबाट हिन्दी साहित्यमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर झा संयुक्त राष्ट्रसंघको ‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ का लागि राष्ट्रिय कार्यान्वयन समितिको विज्ञ सदस्यका रूपमा काम गर्नुभएको थियो ।
१३. गिरीबहादुर सुनार – साउदी अरेबिया
गिरीबहादुर सुनार समाजशास्त्री तथा विकाससम्बन्धी अभियन्ता मानिनुहुन्छ । सुनारसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहुसरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । विश्व बैङ्क र एडीबीका ठूला पूर्वाधार कार्यक्रमहरूमा उहाँले प्राविधिक दक्षता प्रस्तुत गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएका र विद्यावारिधिका शोधार्थी सुनार ‘इम्पावरिङ वुमेन थ्रु सेल्फ–डिफेन्स’ पुस्तकका लेखकसमेत हुनुहुन्छ । उहाँका एक सयभन्दा बढी नीतिगत लेखहरू प्रकाशित छन् ।












प्रतिक्रिया दिनुहोस्