जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार १३:२१

कांग्रेस संस्थापन पक्षले अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो, नयाँ कार्यवाहक तोकियो


काठमाडौं, असोज २ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउने विषयमा असहमति जनाउँदै आएका चार जिल्लाका सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिहरूको कार्यसम्पादनको जिम्मेवारी परिवर्तन गरिएको हो।

निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई दिइएको छ। त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाही, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायर तथा बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार जिम्मेवारी खोसिए पनि सम्बन्धित जिल्ला सभापतिहरूको निर्वाचित पद भने कायमै रहनेछ। उहाँका अनुसार काम अघि बढाउन कठिनाइ देखिएकाले कार्यसम्पादन सहज बनाउन नयाँ जिम्मेवारी तोकिएको हो।

कांग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि तथा महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र इतर समूहबिच मतभेद रहँदै आएको छ।