जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:१६

रवि–बालेन जोडिएको ‘ग्रे जोन’ रिपोर्टबारे प्रवक्ता पोखरेलको यस्तो जवाफ


काठमाडौं, असोज २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रे जोन’को रिपोर्टमा जोडिएको विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले रिपोर्टको आधिकारिकतामाथि प्रश्न उठाउनुभएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँगको सवाल–जवाफमा शिक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले रिपोर्टको तथ्यबारे प्रत्यक्ष टिप्पणी गर्नुभन्दा ‘द ग्रे जोन’को सामाजिक सञ्जालमा रहेको फलोअर संख्यासँग तुलना गर्नुभएको हो।

उहाँले ‘द ग्रे जोन’को फेसबुक फलोअर करिब ७० हजार मात्रै रहेको उल्लेख गर्दै नेपालमा चर्चा भए पनि अमेरिकामा उक्त सञ्चारमाध्यमको खास प्रभाव नरहेको दाबी गर्नुभयो। फलोअरको संख्याले मात्रै कुनै सञ्चारमाध्यमको आधिकारिकता निर्धारण नहुने भए पनि अमेरिकामै त्यसको चर्चा नभएकाले रिपोर्टको आधिकारिकता खोजिरहन आवश्यक नरहेको उहाँको भनाइ थियो।

‘द ग्रे जोन’ले सेप्टेम्बर ९ मा प्रकाशित गरेको रिपोर्टमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सागर ढकाल र सुदन गुरुङलगायतको राजनीतिक उदयलाई अमेरिकी सहयोगमा सञ्चालित विभिन्न कार्यक्रम तथा संस्थासँग जोडिएको दाबी गरेको छ। रिपोर्टले CEPPS अन्तर्गतका संस्थासँग सम्बन्धित कागजातलाई आधार बनाएको दाबी गरेको छ।

रिपोर्टमा सन् २०१७ देखि २०२२ सम्म नेपालमा सञ्चालित ‘नीति संवाद’ कार्यक्रमका लागि अमेरिकी सहयोग रहेको र युवा तथा राजनीतिक नेतृत्व विकाससँग सम्बन्धित गतिविधि सञ्चालन गरिएको उल्लेख छ।

रिपोर्ट सार्वजनिक भएपछि लामिछानेले यसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफूले ‘क्रेडिबिलिटी’ नभएका सामग्री नपढ्ने प्रतिक्रिया दिनुभएको थियो। यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने पत्रकारहरूले रिपोर्टबारे पटक–पटक प्रश्न गर्दा पनि कुनै प्रतिक्रिया नदिएको खबरमा उल्लेख छ।