जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार १२:३७

एमालेले गर्याे भोजपुर नगर उपप्रमुख र  एक वडाध्यक्षलाई साधारण सदस्यबाटै निष्कासन 


काठमाडौं, असोज २ । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र  भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

नेकपा एमाले प्रदेश कमिटीका पदाधिकारीहरूको हिजो बसेको बैठकले उहाँहरूलाई कारबाही गर्ने निर्णय गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको हो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट भोजपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएकी शेर्पामाथि पार्टीविरुद्ध निरन्तर अभिव्यक्ति दिएको तथा पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको आरोप लागेकाे छ।

नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार जिल्ला कमिटीबाट कारबाहीका लागि सिफारिस भई आएकाले प्रदेश कमिटीले सोही आधारमा कारबाहीको निर्णय गरेको हो। शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत रहनुभएको थियो।

वडाध्यक्ष प्रधानलाई पनि एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका प्रधानका सम्बन्धमा जिल्ला कमिटीले गरेको कारबाही सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गरेको हो।

पार्टी सदस्यताबाट निष्कासन भएपछि उहाँहरूको पदसमेत सङ्कटमा परेको छ। उहाँलाई पदबाट पदमुक्त गराउन एमालेले आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ मा राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिलाई दलले कारबाही गरे पद जाने व्यवस्था छ ।