जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार ११:४१

भारतमा अर्थमन्त्री वाग्लेको वार्तामा नेपालको झण्डा गायब : सरकारकाे नियत माथि उठेको गम्भीर प्रश्न


काठमाडौं, असाेज २। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीता रमणबिच उच्चस्तरीय वार्ता भयो। वार्ताको मुख्य विषय थियो-बाढीपछिको पुनर्निर्माण, आर्थिक सहकार्य, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटी। तर, वार्ताको टेबलमा देखिएको एउटा दृश्यले भने आर्थिक एजेन्डाभन्दा गम्भीर अर्को प्रश्न जन्माएको छ- नेपाली झण्डा खोइ ?

दुई देशका अर्थमन्त्रीबिच औपचारिक भेटवार्ता भइरहँदा सार्वजनिक भएका तस्बिरमा भारतीय पक्षतर्फ मात्र होइन नेपाल तर्फ समेत भारतीय राष्ट्रिय झण्डा देखिन्छ, नेपाली प्रतिनिधित्व गरिरहेका अर्थमन्त्री वाग्लेको छेउमा नेपाली राष्ट्रिय झण्डा देखिँदैन। प्रतिनिधिमण्डल स्तरीय बैठकको तस्बिरमा समेत दुवैतर्फ भारतीय झण्डा देखिए पछि कूटनीतिक व्यवस्थापनमाथि प्रश्न उठेको छ।

यो सामान्य सजावटको विषय होइन। यो नेपालको राष्ट्रिय पहिचान, कूटनीतिक मर्यादा र राज्यको प्रतिनिधित्वसँग जोडिएको प्रश्न हो।

दुई देशका उच्चस्तरीय प्रतिनिधि एउटै टेबलमा औपचारिक वार्तामा बस्दा दुवै देशको राष्ट्रिय पहिचान समान रूपमा देखिनु सामान्य कूटनीतिक अभ्यास हो। यस्तो अवस्थामा एउटा देशको झण्डा देखिने र अर्को देशको झण्डा नदेखिने दृश्यले गम्भीर प्रश्न जन्माउँछ-यो कसरी भयो ?

झण्डा बिर्सने ठाउँ हो कूटनीतिक वार्ता ?

अर्थमन्त्री वाग्ले भारत पुग्नु भएको थियो । यो कुनै व्यक्तिगत भ्रमण होइनन्। उहाँ नेपाल सरकारका प्रतिनिधिका रूपमा भारत पुग्नु भएको हो । देशको झण्डा बोकेर भारत जानु भएको हो । भारतीय समकक्षीसँग भएको वार्ता पनि निजी भेटघाट होइन, दुई देशका सरकार बिचको औपचारिक संवाद थियो।

त्यसैले प्रश्न गम्भीर हुन्छ-नेपाल सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्ने आधारभूत व्यवस्थापनसमेत किन भएन ?

यदि यो व्यवस्थापकीय कमजोरी हो भने जिम्मेवार निकाय को हो ? यदि नेपालबाट झण्डा लैजान छुट्यो भने किन छुट्यो ? यदि झण्डा लगिएको थियो भने बैठकस्थलमा किन राखिएन ?

यदि बैठकस्थल व्यवस्थापन भारतीय पक्षको जिम्मामा थियो भने नेपाली प्रतिनिधिमण्डलले यस विषयमा ध्यान किन दिएन ?  यदि अन्तिम क्षणमा समस्या आएको थियो भने त्यसको समाधान खोज्ने जिम्मेवारी कसको थियो ? यी प्रश्नको जवाफ अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासले दिनुपर्छ।

‘सानो कुरा’ भन्दै उम्किने छुट छैन

सरकारी निकायले यसलाई सामान्य व्यवस्थापकीय कमजोरी भनेर पन्छाउन खोजे पनि प्रश्न त्यत्तिकैमा समाप्त हुँदैन। राष्ट्रिय झण्डा कुनै बैठकको टेबलमा राखिने सामान्य सामग्री होइन। यो राष्ट्रको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो।

विदेशमा नेपाली मन्त्रीले नेपाली सरकारको प्रतिनिधित्व गर्दा उनको पछाडि वा छेउमा नेपालको राष्ट्रिय झण्डा नदेखिनु र भारतीय समकक्षीको छेउमा भारतीय झण्डा देखिनु प्रतीकात्मक रूपमा समेत संवेदनशील दृश्य हो।

त्यसैले ‘व्यवस्थापनमा सामान्य त्रुटि भयो’ भनेर मात्रै जवाफ दिनु पर्याप्त हुँदैन। त्रुटि भयो भने कसरी भयो, किन भयो र फेरि यस्तो नहुने सुनिश्चितता के हो ? भन्ने जवाफ पनि चाहिन्छ।

यहाँ अझ प्रश्न उठाउने अर्को विषय त नेपाली झण्डा विना भएको वार्ताका तस्बिर सार्वजनिक हुनु हो । अर्थमन्त्रीको सचिवालयबाट सार्वजनिक यी तस्बिर सामान्य होइनन् । यस्ता तस्बिर सार्वजनिक गर्दा औपचारिकता र प्रोटोकल पक्षमाथि सामान्य ध्यान किन दिइएन ?

दुई देशका झण्डा देखिनुपर्ने औपचारिक वार्ताको तस्बिरमा एउटा देशको झण्डा नै नदेखिएको कुरा सम्बन्धित अधिकारीको नजरमा परेन ? यहीँबाट सरकारी संयन्त्रको संवेदनशीलता र तयारीमाथि प्रश्न उठ्छ।

जानाजान हो कि चरम लापरबाही ?

अहिलेसम्म उपलब्ध सार्वजनिक विवरणका आधारमा नेपाली झण्डा किन राखिएन भन्ने विषयमा सम्बन्धित नेपाली निकायको स्पष्ट आधिकारिक स्पष्टीकरण देखिएको छैन। त्यसैले यसलाई तत्कालै जानाजान गरिएको वा नेपालको पहिचान मेटाउने कुनै योजनाको निष्कर्ष निकाल्नु हतार हुनेछ।

तर अर्को पक्ष पनि उत्तिकै गम्भीर छ। यदि यो जानाजान गरिएको होइन भने यस्तो आधारभूत विषयमा यति ठूलो लापरबाही कसरी भयो ? यदि कसैले जानाजान नेपाली झण्डालाई औपचारिक दृश्यबाट हटाएको हो भने त्यसको जबाफदेहिता झन् गम्भीर विषय बन्नेछ। त्यसैले अब सरकार मौन बस्ने होइन, स्पष्ट पार्ने बेला आएको छ।

नेपाल सहयोग माग्न गएको हो, पहिचान छाड्न होइन

वाग्लेको भारत भ्रमणको मुख्य उद्देश्य बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारत आर्थिक सहकार्यलाई अगाडि बढाउनु थियो। भारतसँग पुनर्निर्माणका लागि सहयोग मागिएको छ र दुई देशबिच व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीका विषयमा समेत छलफल भएको छ।

भारतसँग सहयोग लिनु नेपालको आवश्यकता हुन सक्छ। छिमेकीसँग सहकार्य गर्नु पनि नेपालको हितमा हुन सक्छ। तर सहयोगको आवश्यकता र राष्ट्रिय पहिचानको सम्मान दुई अलग विषय हुन्।

नेपालले मित्रता र सहकार्य खोज्दा आफ्नो राष्ट्रिय पहिचानलाई कमजोर बनाउनुपर्ने कुनै कारण छैन। त्यस्तो हो भने नेपाललाई त्यस्तो सहयोग चाहिँदैन । नेपाल र नेपाली सबै कुरा गुमाउन तयार छ तर राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र आफ्नो पहिचान गुमाउन कदापि तयार हुँदैन । 

सरकारले जवाफ दिनै पर्छ

अर्थमन्त्री वाग्लेको भारत भ्रमण आर्थिक र कूटनीतिक दृष्टिले महत्त्वपूर्ण छ। त्यही कारण वार्ताको एउटा तस्बिरमा देखिएको झण्डाको विषयलाई सामान्य ‘फोटोको कमजोरी’ भन्दै बेवास्ता गर्नु उचित देखिँदैन।

सरकारले स्पष्ट रूपमा भन्नुपर्छ- बैठकस्थलमा नेपाली झण्डा किन थिएन ? कसको जिम्मेवारीमा यो व्यवस्थापन थियो ?

परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले यसबारे के भूमिका खेले ? अर्थमन्त्रीको सचिवालयले तस्बिर सार्वजनिक गर्नुअघि यो विषय किन जाँचेन ?

र सबैभन्दा महत्त्वपूर्ण- यो केवल लापरबाही थियो कि यसको पछाडि अरू कुनै कारण थियो ?

यी प्रश्नको जवाफ नआएसम्म विषय टुङ्गिँदैन। किनकि झण्डा हराउनु भनेको केवल एउटा तस्बिरबाट एउटा रङ्गिन कपडा हराउनु होइन। विदेशी भूमिमा नेपालको प्रतिनिधित्व भइरहेको औपचारिक क्षणमा नेपालको राष्ट्रिय पहिचान गुमाउने गम्भीर षडयन्त्र हो यो । 

नेपाल सरकार र अर्थमन्त्रीले यसको जवाफ दिनै पर्छ- नेपाली झण्डा आखिर खोइ ?