काठमाडौं, असोज २ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने सङ्कल्प गर्नुपर्ने बताउनु भएको छ।
लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै थापाले कांग्रेसको आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित गर्न नहुने स्पष्ट पार्नु भएको छ । थापाले गणेशमान सिंहको त्याग, साहस र निष्ठालाई स्मरण गर्दै कांग्रेसभित्र लोकतान्त्रिक आदर्शलाई व्यवहारमै पुनः स्थापित गर्नुपर्ने बताउनुभएको हो । “हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो,” थापाले भन्नुभएको छ ।
उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । “समय बदलिएको छ, चुनौती बदलिएका छन्। तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,” थापाको भनाइ छ।
थापाले गणेशमान सिंहको राजनीतिक आदर्शलाई वर्तमान पुस्तासँग जोड्दै कांग्रेसको संगठन र राजनीतिक कार्यशैलीमा त्यसको प्रतिबिम्ब देखिनुपर्ने धारणा अघि सार्नु भएको छ। उहाँका अनुसार पार्टीले नयाँ पुस्ताको विश्वास जित्न लोकतान्त्रिक मूल्य, जनउत्तरदायित्व र राजनीतिक निष्ठालाई केन्द्रमा राख्न आवश्यक छ। “लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने सङ्कल्प गरौँ,” थापाले भन्नुभएको छ।
गणेशमान सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने तथा कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नभएका साहसी र निष्ठावान् नेताका रूपमा स्मरण गर्दै थापाले २९औँ स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्