जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार १३:५५

माथिल्लो त्रिशूली–१ को अडिट–३ सुरुङबाट ६ शव निकालियो, थप खोजी जारी


काठमाडौं, असोज २ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो।

उद्धार टोलीले ग्राइण्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट सबै शव बाहिर निकालेको जनाएको छ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित व्यक्ति पनि सम्पर्कविहीन भएका थिए। बाढीपछि उनीहरूको खोजीका लागि सुरक्षा निकाय तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको थियो। 

अहिले पनि भाेटेकाेशी बाढीमा परि धेरै मानिसहरू बेपत्ता छन् ।