जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार २०:५२

मकवानपुर दुर्घटना : मृतक चारै जनाको पहिचान खुल्यो (नामसहित)


मकवानपुर, भदौ ३० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् ।

दुर्घटनामा घाइते हुनेमा मकवानपुर हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया बबियाकुमारी यादव, बाराको कलैयाका २० वर्षीय चालक अमिर अन्सारी र मकवानपुरका राजकुमार स्याङतान रहेका छन् ।

तामाङ र अन्सारीको अवस्था गम्भीर रहेको तथा यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । स्याङतानको अवस्था पनि गम्भीर छ । यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा सडकबाट भीरतर्फ खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको थियो । मृतकको शव हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।