जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार ०७:४८

सुरक्षा निकायविरुद्ध घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ


काठमाडौं, भदौ २८ । विपद्का बेला खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन गरी घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले जनक परियारलाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८, बानियाटार बस्दै आएका २७ वर्षीय परियारलाई काठमाडौं महानगरपालिका–३१, अनामनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारले सामाजिक सञ्जालमार्फत सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरी नागरिक र सुरक्षा निकायबीचको सम्बन्धमा खलल पुर्‍याउने कार्य गरेका छन् ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि परियारले सामाजिक सञ्जालमा गलत सूचना, अफवाह तथा धार्मिक घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको तथा त्यसैसम्बन्धी घटनामा पक्राउ परेर छुटेको विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।