काठमाडौं, भदौ ३१ । अमेरिकाले अन्तरिक्षको कक्षमा हतियार तैनाथ गरेको स्वीकार गरेपछि चीनले अन्तरिक्षमा सैन्य विस्तार रोक्न अमेरिकालाई चेतावनी दिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबारको पत्रकार सम्मेलनमा अमेरिकालाई अन्तरिक्षमा सैन्य विस्तार रोक्न र ठोस कदममार्फत विश्वव्यापी रणनीतिक स्थिरता कायम गर्न आग्रह गर्नुभएको हो।
अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइंकले सोमबार अमेरिकासँग शत्रुबाट संयुक्त सैन्य बलको रक्षा गर्न सक्ने ‘अन्तरिक्षमा तैनाथ हतियार’ रहेको बताउनुभएको थियो। अमेरिकी अधिकारीले अन्तरिक्षमा हतियार रहेको स्वीकार गरेको यो हालसम्मकै स्पष्ट अभिव्यक्ति भएको रोयटर्सले जनाएको छ। यद्यपि ती हतियारको प्रकृति भने सार्वजनिक गरिएको छैन।
अमेरिकी भनाइप्रति प्रतिक्रिया जनाउँदै चीनले अन्तरिक्षलाई हतियारको प्रतिस्पर्धा र युद्धको क्षेत्र बन्न नदिनुपर्ने बताएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अमेरिकी कदमले अन्तरिक्षमा हतियारको विश्वव्यापी प्रतिस्पर्धा बढाउन सक्ने चेतावनी दिएको छ।
चिनियाँ सैन्य विश्लेषक सोङ जोङपिङले अमेरिकाले यही दिशामा अघि बढे अन्य देश पनि त्यसको जवाफ दिन बाध्य हुन सक्ने बताउनुभएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पनि अमेरिकी गतिविधिले अन्य देशलाई आफ्नो अन्तरिक्ष रक्षा क्षमता बढाउन प्रेरित गर्न सक्ने उल्लेख गरेको छ।
यसअघि रुसले पनि अमेरिकाको अन्तरिक्षमा हतियार तैनाथ गरेको स्वीकारोक्तिप्रति आपत्ति जनाउँदै अन्तरिक्षमा हतियारको प्रतिस्पर्धा रोक्न कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सन्धि आवश्यक रहेको बताएको छ।














प्रतिक्रिया दिनुहोस्