काठमाडौं, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरानसँग आणविक कार्यक्रमलाई लिएर सम्झौता हुन नसके इरानविरुद्ध थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार न्यूयोर्कमा भएको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक हतियार बनाउन नपाउने विषयमा आफ्नो सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले इरानसँग सम्झौता गरेर पुनर्निर्माण र आर्थिक विकासको बाटो रोज्ने वा विनाशतर्फ जानेमध्ये विकल्प रोज्नुपर्ने सन्देश दिनुभयो ।
ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वाससमेत व्यक्त गर्नुभयो । इरानले आणविक हतियार प्राप्त गर्न नपाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
उहाँले अन्य देशलाई पनि इरानमाथि आर्थिक दबाब बढाउन आग्रह गर्नुभयो । ट्रम्पले अमेरिकी सैन्य कारबाहीले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोकिएको दाबी गर्दै इरानसँगको युद्ध र सम्भावित वार्ताबारे आफ्नो सरकारको नीति प्रस्तुत गर्नुभयो ।
ट्रम्पले गाजाको युद्ध अन्त्य गर्न भइरहेको कूटनीतिक प्रयास र रुस–युक्रेन युद्ध अन्त्यका लागि आफ्नो पहलको पनि चर्चा गर्नुभयो । उहाँले आफूले अपेक्षा गरिएभन्दा छिटो शान्ति कायम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
सम्बोधनका क्रममा ट्रम्पले क्युबालाई ‘असफल राष्ट्र’को संज्ञा दिनुभएको थियो । त्यसपछि क्युबाली प्रतिनिधिमण्डल सभाहलबाट बाहिरिएको थियो ।
ट्रम्पले अमेरिकाको सुरक्षा र हितमा खतरा उत्पन्न भए आवश्यक स्थानमा सैन्य शक्ति प्रयोग गर्न अमेरिका पछि नहट्ने बताउनुभयो । उहाँले भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
यसैबीच, ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका नेतासँग ग्रिनल्यान्डमा अमेरिकी सुरक्षा तथा सैन्य उपस्थितिसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत गर्नुभएको छ । सम्झौताअनुसार ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थितिलाई विस्तार गर्दै दुई नयाँ रक्षा आधार निर्माण गर्ने योजना अघि बढाइएको छ ।












प्रतिक्रिया दिनुहोस्