जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:०६

फिनल्यान्ड र नर्वेको एआई नियन्त्रणसम्बन्धी आह्वानलाई गुटेरेसको स्वागत


काठमाडौं, असोज ७ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले फिनल्यान्ड र नर्वेले अघि सारेको ‘फ्रन्टियर एआई’ मोडेलको विकास र प्रयोगलाई नियन्त्रण तथा निगरानीमा राख्ने अन्तर्राष्ट्रिय आह्वानको स्वागत गर्नुभएको छ ।

फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा सोमबार अघि सारिएको आह्वानमा अत्याधुनिक एआई प्रणालीलाई मानव नियन्त्रण, अन्तर्राष्ट्रिय कानुन र साझा सुरक्षा मापदण्डअन्तर्गत राख्न जोड दिइएको छ ।

आह्वानमा एआई विकास गर्ने कम्पनीले प्रयोगमा ल्याउनुअघि अनिवार्य सुरक्षा परीक्षण र स्वतन्त्र मूल्याङ्कन गर्नुपर्ने, सरकार तथा क्षेत्रीय संस्थाले साझा मापदण्ड र पारदर्शिता बलियो बनाउनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले मापदण्ड निर्धारण र प्रमाणीकरण गर्न सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्नुपर्ने उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले पनि सदस्य राष्ट्रले विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई थप बलियो बनाउँदै एआईका लागि मापदण्ड र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने पहलको स्वागत गर्नुभएको छ । उहाँले एआई सुरक्षा र मानव नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले सार्वजनिक गरेको विषयगत प्रतिवेदनको समेत स्वागत गर्नुभएको छ ।

आह्वानलाई सुरुवातमै फिनल्यान्ड र नर्वेसहित २० देशका २२ नेताले समर्थन गरेका छन् । समर्थन गर्नेमा क्यानडा, अस्ट्रेलिया, जर्मनी, स्पेन, नेदरल्यान्ड्स, सिङ्गापुर, दक्षिण अफ्रिका, टर्की, संयुक्त अरब इमिरेट्सलगायत देशका नेता तथा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसमेत हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा एआई पनि प्रमुख छलफलको विषय बनेको छ । महासचिव गुटेरेसले महासभाको उद्घाटन सम्बोधनमा एआईलाई जलवायु सङ्कट र असमानतासँगै मानवतासामु रहेका प्रमुख चुनौतीमध्ये एकका रूपमा उल्लेख गर्दै एआईसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य र सुरक्षात्मक उपायमा जोड दिनुभएको छ ।