जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०८:१३

पाकिस्तानको मस्जिदमा बम विस्फोट, २१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते


काठमाडौं, असोज ३ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा रहेको प्रहरी परिसरको मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

शुक्रबार नमाजका क्रममा भएको विस्फोटमा १५ जना प्रहरी र ६ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। घटनामा १०० भन्दा बढी घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदका अनुसार विस्फोटक पदार्थले भरिएको गाडी मस्जिदतर्फ ठोक्काइएको थियो। विस्फोटपछि केही हतियारधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीसँग गोली हानाहान भएको थियो।

विस्फोटबाट मस्जिद र प्रहरी कार्यालयको बाहिरी संरचनामा ठूलो क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले घटनाको निन्दा गर्दै उद्धार तथा उपचारका कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

घटनाको जिम्मेवारीबारे प्रारम्भिक रिपोर्टहरूमा फरक विवरण आएका छन्। पछिल्लो रिपोर्टअनुसार अफगानिस्तानमा सक्रिय हाफिज गुल बहादुरसँग सम्बन्धित ‘इत्तेहादुल मुजाहिदिन’ समूहले जिम्मेवारी लिएको बताइएको छ भने पाकिस्तान तालिबान (टीटीपी) ले संलग्नता अस्वीकार गरेको छ।

कोहाटमा भएको यो घटना पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पछिल्लो समय बढिरहेको हिंसात्मक घटनाकै क्रममा भएको हो। घटनाको अघिल्लो दिन हाङ्गु जिल्लामा सुरक्षा बलको गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा ६ सैनिकको मृत्यु भएको थियो।