जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०७:०४

युद्ध अन्त्य गर्न इरानले अमेरिकासमक्ष राख्यो तीन सर्त


काठमाडौं, असोज ४ । इरानले अमेरिका–इरानबीच जारी युद्ध पूर्णरूपमा अन्त्य गर्न कतारमार्फत अमेरिकासमक्ष शर्तसहितको प्रस्ताव पठाएको छ ।

समाचार संस्था अलजजिराका अनुसार इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले कतारमार्फत अमेरिकालाई युद्ध अन्त्यसम्बन्धी प्रस्ताव पठाइएको जानकारी दिएका छन् ।

इरानले आफ्ना प्रतिबन्धित सम्पूर्ण सम्पत्ति फुकुवा गर्नुपर्ने, अमेरिकाले इरानमाथिका सबै सैन्य हमला तत्काल रोक्नुपर्ने र समुद्री नाकाबन्दी हटाउनुपर्ने शर्त राखेको छ ।

त्यस्तै, इरानले हुथी र साउदी अरबबीचको संघर्ष अन्त्य गर्नुपर्ने विषयसमेत अमेरिकासमक्ष राखेको रेजाइले बताएका छन् ।

इरानले पठाएको प्रस्तावबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको प्रतीक्षा गरिरहेको रेजाइले बताएका छन् ।

इरान र अमेरिकाबीचको तनाव बढिरहेका बेला तेहरानले युद्ध अन्त्यका लागि औपचारिक रूपमा शर्त अघि सारेको हो । प्रस्तावबारे अमेरिकी पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।