काठमाडौं, असोज ६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध प्रस्तावित हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएपछि यमनमा हुथी समूहले रणनीतिक भूभाग कब्जा गर्ने प्रयास तीव्र पारेको छ ।
रोयटर्सका अनुसार हुथी लडाकुहरूले लाल सागरको तटीय क्षेत्रलाई साउदी अरब समर्थित यमनी सरकारको नियन्त्रणमा रहेका बाँकी भूभागबाट अलग गर्ने उद्देश्यले ताइज र लहिज प्रान्तका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास गरिरहेका छन् ।
‘द न्युयोर्क टाइम्स’ले साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि अमेरिकी प्रशासनले आइतबार हुथीविरुद्ध हवाई आक्रमणको तयारी गरेको तर अन्तिम समयमा ट्रम्पले आक्रमण रोक्न निर्देशन दिएको जनाएको छ । यद्यपि, रोयटर्सले उक्त रिपोर्टको तत्काल स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ ।
यसैबीच, यमनका राष्ट्रपति रशाद अल–अलिमीले ट्रम्पसँग फोनवार्ता गरी हुथीविरुद्ध अमेरिकी सहयोग मागेको चार स्रोतले रोयटर्सलाई बताएका छन् । तर दुई स्रोतका अनुसार ट्रम्पले फोनवार्तामा प्रत्यक्ष सैन्य सहयोगको प्रतिबद्धता जनाउनुभएको थिएन ।
हुथी समूहले सन् २०१४ देखि यमनको राजधानी सानासहित विभिन्न क्षेत्र नियन्त्रणमा राख्दै आएको छ । पछिल्लो समय समूहले लाल सागरको तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेपछि साउदी समर्थित सरकारी सेनासँगको भिडन्त थप चर्किएको छ ।
पछिल्लो संघर्षका क्रममा करिब ७ सय जनाको मृत्यु भएको र १ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ । लडाइँका कारण लाल सागर तथा बाब अल–मन्देब क्षेत्रको सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमाथि समेत जोखिम बढेको छ ।
हुथीको पछिल्लो विस्तारपछि साउदी अरबले आफ्नो तेल निर्यातका लागि होर्मुज जलडमरूमध्यतर्फको मार्गमा समेत निर्भरता बढाएको छ । यसले मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा बजार र समुद्री व्यापारमा पार्न सक्ने प्रभावबारे चिन्ता थपिएको छ ।
यमनमा बढ्दो तनावका बीच बेलायतले साउदी अरबलाई सीमित रक्षात्मक सैन्य सहयोगस्वरूप हवाई इन्धन भर्ने विमान उपलब्ध गराउने घोषणा गरेको छ । यसले यमनको द्वन्द्वमा अन्य मुलुकको संलग्नता बढ्ने सम्भावनाबारे समेत चासो बढाएको छ ।












प्रतिक्रिया दिनुहोस्