जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०६:५३

रियादसहित साउदीका ऊर्जा केन्द्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी


काठमाडौं, असोज ४ । इरानसमर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबको राजधानी रियादसहित विभिन्न क्षेत्रमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले रियादका संवेदनशील स्थल तथा यान्बुस्थित साउदी सरकारी तेल तथा ग्यास कम्पनी अरामकोका ऊर्जा केन्द्रलाई लक्षित गरी ठूलो संख्यामा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको दाबी गरेका छन् ।

तर साउदी अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकिएको बताएका छन् । अन्य आक्रमण र त्यसबाट भएको क्षतिको भने साउदी पक्षले पुष्टि गरेको छैन ।

शनिबार बिहान रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँ देखिएको थियो । घटनापछि विमानस्थलका केही उडान प्रभावित भएका थिए । एएफपीका अनुसार रियादमा विस्फोटका आवाजसमेत सुनिएका थिए ।

जुलाईयता हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि शनिबार पहिलोपटक रियादमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । साउदी नागरिक सुरक्षा निकायले रियादसहित विभिन्न क्षेत्रमा मोबाइल फोनमार्फत सम्भावित खतराबारे सूचना पठाएको थियो ।

हुथी प्रवक्ता सारियाले आक्रमणलाई यमनको राजधानी सानामाथि साउदी अरबले गरेको भनिएको आक्रमणको जवाफ भएको बताएका छन् । हुथीको नियन्त्रणमा रहेको सानामाथि साउदी पक्षले पछिल्लो समय लगातार आक्रमण गरेको हुथीको आरोप छ ।

यसैबीच, साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले बिश, ताइफ, फरासान र यान्बु क्षेत्रमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास हवाई प्रतिरक्षा प्रणालीले विफल बनाएको बताएका छन् । ती घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सतर्क रहन तथा मध्यपूर्वतर्फको यात्राबारे पुनर्विचार गर्न आग्रह गरेको छ । मन्त्रालयले सैन्य द्वन्द्व थप विस्तार हुन सक्ने चेतावनी दिएको छ ।

यमनमा हुथी विद्रोही र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीच लामो समयदेखि संघर्ष हुँदै आएको छ । यमन सरकारलाई साउदी अरबको समर्थन छ । पछिल्लो समय हुथी र साउदीसमर्थित सरकारी फौजबीचको तनाव पुनः बढेको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पछिल्लो लडाइँका कारण यमनमा विस्थापित हुनेको संख्या एक लाख चार हजार ७९६ नाघेको छ ।

यसैबीच लालसागर क्षेत्रमा समेत तनाव बढेको छ । हुथीले रणनीतिक महत्वको मोखा बन्दरगाह र पेरिम टापु आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन् । लालसागर हुँदै हुने सामुद्रिक आवागमनमा अवरोध भएमा ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।