जनता टाइम्स

१९ कार्तिक २०७९, शनिबार २२:१४

सेतोपाटीलाई समाचार हटाउन निर्वाचन आयोगको निर्देशन


काठमाडौं, १९ कात्तिक । निर्वाचन आयोगले सेतापाटी डटकमलाई झापा क्षेत्र नम्बर १ का उम्मेद्वार अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै शीर्षकको प्रकाशित समाचार बारे आज स्पष्टीकरण सोधेको छ । सेतोपाटीले शुक्रवार सो शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

आयोगले समाचारले उम्मेद्वार तथा निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने देखिएकाले त्यसरी समाचार प्रकाशन गर्नु निर्वाचन आचारसंहिता विपरित भएको जनाउँदै २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले सञ्चार प्रतिष्ठानले उम्मेद्वारको एकाघरको परिवारका सदस्यको मान प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नमिल्ने जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ण) तथा दफा २५ को खण्ड (ज) विपरितको कार्य गरेको देखिँदा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम सेतोपाटी डटकमलाई जवाफ उपलब्ध नगराए कारवाही गर्ने जनाएको छ ।