दोहा, मंसिर २४ । ब्राजिलले सन् २००२ को फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै कीर्तिमान पाचौंपल्ट विश्वकपको उपाधि जितेपछि नकआउट चरणमा युरोपेली टिमलाई हराउन सकेको छैन । यसले कतारमा पनि निरन्तरता पायो । यसपालि ब्राजिललाई क्वाटरफाइनलमा सिकार बनाउने टिम रह्यो क्रोएसिया ।
चार वर्षअघिको उपविजेता क्रोएसियाले उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिललाई एजुकेसन सिटी स्टेडियममा शुक्रबार निर्धारित समयमा गोलरहित रोकेको थियो । ३० मिनेटको अतिरिक्त समय १–१ मा टुंगिएपछि क्रोएसिया टाइब्रेकरमा ४–२ ले ब्राजिलको चुनौती समाप्त पार्दै विश्वकप २०२२ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
क्रोएसियाको जितमा घरेलु क्लब डिनामो जाग्रेबका २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शन गरे ।
अन्तिम १६ मा जापानविरुद्ध टाइब्रेकरमा हात पारेको जितमा दुई पेनाल्टी रोकेका उनले दोस्रो हाफ र अतिरिक्त समयमा नेयमर, रिचार्लिसन, कासेमिरोका शृंखलाबद्ध आक्रामण पालैपालो निस्तेज पारेका थिए । उनले पेनाल्टी सुटआउटमा ब्राजिलको पहिलो प्रहारमै आएका रियल म्याड्रिडका २१ वर्षीय फरवार्ड रोड्रिगोले प्रहार गरेको बल बायातर्फ डाइभ गर्दै रोकेर क्रोएसियाको जितको आधार तय गरिदिए ।
क्रोएसियाका चारै खेलाडी निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचको प्रहार सटिक रह्यो । त्यसैले ब्राजिलको चौथो प्रहारमा आएका मारक्विन्होजले हानेको बल पोलमा लागेर फर्किएपछि टाइब्रेकरमा ४–२ को जित रच्दै क्रोएसिया तेस्रोपल्ट विश्वकपको अन्तिम चारमा प्रवेश गर्यो ।
सन् २०१८ को फाइनलमा फ्रान्ससँग ४–२ ले हारेको क्रोएसिया १९९८ मा पनि सेमिफाइनल पुगेको थियो । क्रोएसियाले जतिपल्ट समूह चरण पार गरेको छ, त्यति नै पल्ट विश्वकपको सेमिफाइनल यात्रा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्