जनता टाइम्स

२ श्रावण २०८३, शनिबार २०:०८

श्रीमतीको उपचारका कारण राजनीतिक गतिविधिबाट केही समय टाढा : ईश्वर पोखरेल


काठमाडौं,  साउन  २ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नी श्रीमती मिरा पोखरेल (ध्वोजु) भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचाररत रहेकाले आफू पछिल्लो समय देशभित्रका सार्वजनिक तथा राजनीतिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुन नसकेको जानकारी दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै नेता पोखरेलले श्रीमतीको उपचारमा आफू प्रत्यक्ष रूपमा संलग्न रहनुपरेकाले देशभित्रका गतिविधिमा अपेक्षाअनुसार उपस्थित हुन नसकेको उल्लेख गर्नुभएको हो।

उहाँले उपचार प्रक्रिया अझै जारी रहने भएकाले आगामी केही समयसम्म पनि आफ्नो उपस्थिति र गतिविधि प्रभावित रहने जानकारी गराउनुभएको छ।

नेता पोखरेलले यस अवधिमा श्रीमती मिरा पोखरेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न माध्यमबाट शुभेच्छा व्यक्त गर्ने तथा प्रत्यक्ष भेटेर हौसला प्रदान गर्ने साथीभाइ, शुभेच्छुक र आफन्तजनप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

उहाँले सबैको सद्भाव, शुभेच्छा र सहयोगी भावनाले कठिन परिस्थितिमा आफूहरूलाई थप हौसला मिलिरहेको उल्लेख गर्दै उपचार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।