जनता टाइम्स

३१ आश्विन २०८३, शनिबार २०:११

चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको निर्देशन


काठमाडौं, असोज ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शनिबार शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको बताउनुभएको छ।

उहाँले राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार भएको उल्लेख गर्नुभएको छ। चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता रहेको उहाँको भनाइ छ।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई चाडपर्वको शुभकामना दिनुभएको छ।