जनता टाइम्स

३१ आश्विन २०८३, शनिबार २०:२६

क्यानडासँग नेपाल २४ रनले पराजित, शीर्ष ६ मा रहन ओमानलाई हराउनैपर्ने


काठमाडौं, असोज ३१ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। यो हारसँगै लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको नेपालले शीर्ष ६ मा रहन अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने भएको छ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा शनिबार भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा अलआउट भयो। नेपालका लागि ओपनर अर्जुन कुमालले ११२ बलमा चार चौकासहित ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसी १७ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका ओपनर युबराज सम्राले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रन बनाए। आरोन जोन्सले ३६, हर्ष ठाकरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे।

नेपालका लागि ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट लिए।

सिरिजका सुरुवाती दुई खेल जितेको नेपाल क्यानडासँगको हारपछि आठ टोली सहभागी लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।

नेपालले शीर्ष ६ मा रहन अब अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ। नेपाल यसअघि नै शीर्ष चारको दौडबाट बाहिरिएकाले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सीधै पुग्न असफल भइसकेको छ। अब विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफ क्वालिफायरको बाटो लिनुपर्नेछ।