जनता टाइम्स

३१ आश्विन २०८३, शनिबार २०:२०

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो


काठमाडौं, असोज ३१ । बडादसैँको फूलपातीका अवसरमा गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याइएको छ।

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शुभ साइतको प्रतीकका रूपमा घरघरमा फूलपाती भित्र्याउने परम्परा छ। सोहीअनुसार हनुमानढोकास्थित दशैँघरमा पनि शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइएको हो।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारबाट फूलपातीसहितको डोली काठमाडौं ल्याएर भित्र्याउने परम्परा रहँदै आएको छ।

गोरखा दरबारको दशैँघरबाट फूलपातीको डोली सतीपिपलस्थित फूलपाती चौतारासम्म दरबारका सुसारेले बोकेर ल्याउने र त्यहाँबाट काठमाडौं पठाउने चलन छ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूललगायतका वनस्पति समावेश गरिन्छ। नवपत्रिकाका रूपमा चिनिने यी सामग्रीलाई नौ देवीको प्रतीक मानेर दशैँघरमा वैदिक विधिअनुसार पूजा गर्ने परम्परा छ।

घटस्थापनादेखि सुरु हुने दसैँको धार्मिक तथा सामाजिक चहलपहल फूलपातीदेखि थप बढ्ने गर्छ।