जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार १७:३५

माछापोखरीमा कुटपिट हुँदा २० वर्षीय युवकको मृत्यु, एक जना पक्राउ


काठमाडौं, असोज ३१ । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा कुटपिटबाट २० वर्षीय सुवाश तामाङको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबीच काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकमा विवाद भएको प्रहरीले जनाएको छ।

झगडाका क्रममा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा दिउँसो १ः३० बजे मृत्यु भएको हो।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।