जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार ०८:३९

बनेपामा ग्यास बुलेटको ठक्करबाट दशैँ मनाउन घर हिँडेका ९ वर्षीय बालकको ज्यान गयो, बाबु-आमा घाइते


काभ्रे, असोज ३१ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उहाँका बाबु-आमा घाइते हुनुभएकाे छ।

नेपाल प्रहरीका अनुसार आज बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट HR38AL1634 को ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उहाँकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए। उहाँहरु काठमाडौंबाट दशैँ मान्न घर हिँडेकाे बुझिएकाे छ । 

घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा बालक जुवासलाई बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।