काठमाडौं, असोज ३१ । बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले असोज २१ गतेदेखि ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो।
योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, अवैध सट्टेबाजी, नक्कली नोटको कारोबार र हुन्डीलगायत गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसार तथा तस्करी रोक्न पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार सुरक्षा योजनामा अपराध रोकथाम, सक्रिय प्रहरी परिचालन, सडक दुर्घटना न्यूनीकरण र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। उहाँले समग्र देशको शान्ति सुरक्षा सन्तोषजनक रहेको र नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउन सकून् भनेर प्रहरीले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो।
कोशीमा सबैभन्दा बढी प्रहरी परिचालन
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी आठ हजार १३३ प्रहरी परिचालन गरिएका छन्। लुम्बिनीमा सात हजार ९२१, काठमाडौं उपत्यकामा सात हजार ६६८ र मधेश प्रदेशमा सात हजार २३० प्रहरी खटाइएका छन्।
त्यस्तै, कर्णाली प्रदेशमा पाँच हजार ३१४, गण्डकीमा पाँच हजार १८८, सुदूरपश्चिममा चार हजार ५०५ र बागमती प्रदेशमा चार हजार ४९९ प्रहरी परिचालन गरिएको छ।
चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, बजारमा भीड हुने र घर खाली गरेर बाहिरिने नागरिकको सङ्ख्या बढ्ने भएकाले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो।
देशभर ४०८ यात्रु सहायता कक्ष
यात्रु ठगी, बढी भाडा असुली र आवागमनका क्रममा हुन सक्ने समस्यालाई सम्बोधन गर्न देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रमा आउने नागरिकलाई लक्षित गरी थप १०८ स्थानमा सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
सार्वजनिक यातायातलाई सुरक्षित बनाउन बस छुट्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको र सवारीसाधनको अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको छ। लामो दूरीका सवारीसाधनमा दुई चालक भए–नभएको र सवारीको यान्त्रिक अवस्था पनि परीक्षण गरिनेछ।
राजमार्गमा यात्रुले खाना तथा अन्य उपभोग्य सामग्री खरिद गर्दा ठगी, बढी मूल्य असुली, कालोबजारी र म्याद गुज्रिएका सामग्रीको बिक्री रोक्न सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन भइरहेको प्रहरीले जनाएको छ।
घर खाली छाड्दा सावधानी अपनाउन आग्रह
दसैँ मनाउन घर छाडेर बाहिरिने नागरिकको सङ्ख्या बढेसँगै चोरीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
घर खाली गरेर बाहिरिँदा सामाजिक सञ्जालमा आफू बाहिर गएको सूचना सार्वजनिक नगर्न, बहुमूल्य गरगहना तथा सामग्री घरमा नराख्न र झ्यालढोका राम्रोसँग बन्द गरी ताल्चा लगाउन प्रहरीले सुझाव दिएको छ। सम्भव भएसम्म अतिरिक्त सुरक्षा ताल्चा प्रयोग गर्न, ग्यास तथा बिजुली सुरक्षित बनाउन र छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई घर खाली रहनेबारे जानकारी दिन पनि अनुरोध गरिएको छ।
सीसीटीभी, ड्रोन र बडी क्यामेराबाट निगरानी
यस वर्षको सुरक्षा योजनामा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। प्रमुख सहरी क्षेत्र र संवेदनशील स्थानमा सीसीटीभीबाट निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोन, तालिमप्राप्त कुकुर र प्रहरी कर्मचारीले लगाउने बडी क्यामेरा प्रयोग गरिने प्रहरीले जनाएको छ।
सुरक्षा निकायबीच समन्वय र तत्काल सूचना आदानप्रदानको व्यवस्था मिलाइएको छ। प्रविधिबाट प्राप्त सूचनाका आधारमा सुरक्षा परिचालनलाई प्रभावकारी बनाउने प्रयास गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो।
चाडपर्वमा डिजिटल तथा वित्तीय ठगीका घटना हुन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको भन्दै फोन गर्ने वा प्रलोभन देखाएर ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण माग्ने व्यक्तिबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ। चिट्ठा परेको भन्दै रकम माग्ने, शङ्कास्पद लिङ्क पठाउने र अनलाइन कारोबारका नाममा ठगी गर्ने गतिविधिबाट जोगिन पनि प्रहरीले सचेत गराएको छ।
महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक नागरिकको सुरक्षालाई पनि विशेष योजनामा समेटिएको छ। जुवातास, अवैध सट्टेबाजी र लागुऔषधको ओसारपसार तथा बिक्रीवितरण नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका कार्यालय प्रमुखलाई चाडपर्व सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
प्रहरीले चाडपर्व सुरक्षित बनाउन नागरिकको सहकार्य पनि आवश्यक रहेको भन्दै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्